काठमाडौं । सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोकियो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यावसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन डिजाइन गरिएको सुरक्षित एपीआई बैंकिङ प्लेटफर्म सञ्चाालनमा ल्याइएको छ । यो सेवाअन्तर्गत प्रथम चरणमा, व्यावसायिक ग्राहकको सहमतिमा र्यापिडले ग्राहकको ईआरपी प्रणालीहरूलाई बैंक खातासँग प्रत्यक्षरूपमा जडान गर्छ, जसले गर्दा ईआरपीभित्रैबाट वास्तविक समयमा ब्यालेन्स चेक र स्टेटमेन्ट हेर्न सकिन्छ । साथै दोस्रो चरणमा, र्यापिड विश्वव्यापी मापदण्ड आईएसओ २००२२ तथा एमएफएम र ओवाथ २ जस्ता प्रविधिहरू प्रयोग गरी भुक्तानी प्रारम्भ गर्ने सुरक्षित एपीआई उपलब्ध गराउनेछ, जसमा भुक्तानी स्वीकृतिका लागि हस्ताक्षरकर्ता (एकल वा बहु–हस्ताक्षर) परिभाषित गर्न सकिने, क्यूआर कोड र कार्डमार्फत गरिएका कारोबारहरूको सेटलमेन्ट डेटाको विस्तृत भुक्तानी विवरण प्राप्त गर्न सकिने, कर्मचारीहरूको तलब भुक्तानीलाई छिटो प्रभावकारी र स्वचालित गराउन सकिने, एउटा खाताबाट अर्को खातामा रकमान्तर तथा अन्तर बैंक रकमान्तर सहज र सुरक्षित तरिकाले गराउन सकिने, अनलाइन खाता खोल्न सकिनेजस्ता सेवाहरू उपलब्ध हुनेछन् । र्यापिडले व्यावसायिक प्रयोगकर्तालाई ओवाथ २ मार्फत सुरक्षित डिजिटल सहमतिद्वारा पूर्ण नियन्त्रण दिन्छ र प्रत्येक महत्वपूर्ण कार्यका लागि एक पटक प्रयोग हुने पासकोडको माध्यमबाट थप सुरक्षा प्रदान गर्छ । सम्पूर्ण डेटा आधुनिक पीकेआई प्रविधिको प्रयोगद्वारा पूर्णरूपमा इन्क्रिप्ट गरिएको हुन्छ ।
र्यापिडले विश्वव्यापी आईएसओ २००२२ मापदण्डहरू पालना गर्छ, जसले वित्तीय डेटा स्पष्ट, स्थिर, र विश्वासिलो ढाँचामा प्रस्तुत गर्न सुनिश्चित गर्छ, जसले गर्दा व्यावसायिक ग्राहकहरूले छिटो, सही र पूर्ण आत्मविश्वासका साथ वित्तीय कार्य गर्न सक्छन् । यो सेवाले व्यावसायिक ग्राहकको बैंकिङ कारोबारलाई धेरै नै सहज हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।