काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का उच्चस्तरीय प्रतिनिधिबीच नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका कठिनाई, आगामी आर्थिक वर्षको बजेटलगायतका विषयमा छलफल भएको छ ।
काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा मुलुकको औद्योगिक र व्यावसायिक वातावरण, कोभिडपछिको अर्थतन्त्र, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिलगायतका विषयमा केन्द्रित भएर छलफल भएको हो ।
आईएमएफका प्रतिनिधिसँग चेम्बरका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको वर्तमान समस्यालाई सम्बोधन गर्ने गरी आगामी आर्थिक वर्षको बजेट आएकाले निजी क्षेत्रमा आशा पलाएको बताए । उनले भने, ‘सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन र निजी क्षेत्रले दिएका सुझावका आधारमा नै आगामी आर्थिक वर्षको बजेट ल्याएको छ । बजेट समग्रमा सन्तुलित छ । कार्यान्वयनको पक्ष प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएका छौं ।’
छ प्रतिशतको आर्थिक वृद्धि गर्ने गरी ल्याइएको बजेटको लक्ष्य पूरा गर्नका लागि सोहीअनुरूप सहजीकरण हुने मौद्रिक नीति आउनुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । कोभिड–१९ पछि अंगीकार गरिएका संकुचित नीतिहरूका कारण निजी क्षेत्रले ठूलो क्षति व्यहोर्नुपरेको र वर्तमान आर्थिक शिथिलताको कारण पनि त्यही नीतिहरू रहेको अध्यक्ष अग्रवालले बताए । मुलुकको अर्थतन्त्र केही दबाबमा रहे पनि आगामी बजेट प्रभावकारीरूपमा कार्यान्वयन हुन सके अधिकांश समस्या सम्बोधन हुनेमा आफूहरू विश्वस्त रहेको उनले बताए ।
नेपालमा प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष अग्रवालले, उपयुक्त आर्थिक नीतिहरू अंगीकार गरिए उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न कठिन नहुने धारणा राखे । आईएमएफ मिसन चिफ डा. सर्वात जाहान नेतृत्वको प्रतिनिधिमण्डलले चेम्बर पदाधिकारीहरूसँगको भेटमा नेपालको वर्तमान आर्थिक अवस्था, निजी क्षेत्रले भोग्नुपरेका समस्या, आगामी आर्थिक वर्षको बजेट र मौद्रिक नीतिलगायतका विषयमा जिज्ञासा राखेका थिए ।