वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको विश्वव्यापी कर वृद्धि नीतिले आयातमा आएको गिरावटका कारण अमेरिकी व्यापार घाटा अप्रिलमा आधाभन्दा बढीले घटेको छ ।
बिहीबार सार्वजनिक भएको सरकारी तथ्यांकअनुसार गत मार्च महिनाको तुलनामा अप्रिलमा व्यापार घाटा ५५ दशमलव पाँच प्रतिशत घटेको छ । ट्रम्पले सबै व्यापारिक साझेदारहरूमाथि १० प्रतिशत कर लगाउने घोषणा गरेको महिना गत मार्चमा अमेरिकाको व्यापार घाटा ६१.६ अर्ब डलर थियो ।
व्यवसायहरूले ट्रम्पको प्रतिज्ञा गरिएको कर कार्यान्वयनमा आउनुपहिले विदेशी वस्तुको आयातमा व्यापक लगानी गरेपछि मार्चमा समग्र अमेरिकी व्यापार घाटा एक सय ३८ दशमलव तीन अर्ब डलर पुगेको थियो । अमेरिकी सहयोगी र प्रतिस्पर्धीहरूमाथि समानरूपमा १० प्रतिशत आधारभूत कर लगाएपछि अप्रिलमा आयात १६ दशमलव तीन प्रतिशतले घटेर तीन सय ५१ अर्ब डलरमा झरेको छ ।
आधारभूत १० प्रतिशत करबाहेक ट्रम्पले चीन, युरोपेली संघ र जापानसहितका दर्जनौँ अर्थतन्त्रमा उच्च कर दरको घोषणा पनि गरेका थिए । ती दर व्यापार वार्ताका लागि ठाउँ दिने सर्तमा जुलाईको सुरुसम्म लागू नहुने सहमति ती मुलुकले गरेका छन् ।
विश्वका दुई ठूला अर्थतन्त्रले एक–अर्काको उत्पादनमा दुवै पक्षको कर तीन अंकमा पुर्याएपछि चीनबाट आउने सामान ट्रम्पको सबैभन्दा ठूलो निशाना बनेको थियो ।
अमेरिका र चीनबीच स्थितिलाई कम गर्न अस्थायी सम्झौतामा पुग्नुअघि चीनबाट धेरै ढुवानीहरू रोकिएको थियो ।
ट्रम्पले गत हप्ता बेइजिङले आफ्नो अस्थायी सम्झौताका सर्तहरू उल्लंघन गरेको आरोप लगाएपछि दुई देशबीचको व्यापार सम्झौताको अवस्था अनिश्चित छ । गत अप्रिलमा अमेरिकी आयात १६ दशमलव तीन प्रतिशतले घटेर तीन सय ५१ अर्ब डलरमा झरेको थियो । विशेषगरी उपभोग्य वस्तुहरूको आयात ३३ अर्ब डलरले घटेको तथ्यांकले देखाएको छ ।
अमेरिकी निर्यात तीन प्रतिशतले बढेर दुई सय ८९ दशमलव चार अर्ब डलर पुगेको छ, जसले औद्योगिक आपूर्तिजस्ता वस्तुनिर्यातलाई सहयोग गरेको छ तर अमेरिकी अटो तथा पार्टपुर्जाको निर्यात तीन दशमलव तीन अर्ब डलरले घटेको छ ।