काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा सबैपक्ष लाग्नुपर्नेमा जोड दिएका छन् । डिप्लोमा इञ्जिनियर्स एशोसिएसनको ४५औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यशालामा उनले विपद् व्यवस्थापनका लागि जलवायु परिवर्तनको प्रभाव र असर न्यूनीकरणमा जोड दिएका हुन् ।
“प्लाष्टिकको प्रयोग मानव स्वास्थ्य, प्राणी र पर्यावरणका लागि हानिकारक छ । तसर्थ, प्लाष्टिकको विकल्प विकासगरी यसको प्रयोगलाई निरुत्साहित गर्नुपर्छ”, मन्त्री दाहालले भने, “सबै स्थानीय तह, प्रदेश एवं सङ्घीय सरकारले नागरिकको सहभागितामा वातावरण संरक्षणका कार्यक्रम अघि सार्नुपर्छ ।”
मन्त्री दाहालले डिप्लोमा इञ्जिनियरिङ काउन्सिल छिटै गठन हुने र त्यसको प्रक्रियासमेत सुरु भइसकेको राससलाई बताए । कार्यक्रममा इञ्जिनियरिङ क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो । जलवायु परिवर्तन, प्लाष्टिक तथा विश्व वातावरणका विषयमा कार्यशाला आयोजना गरिएको त्यस अवसरमा जानकारी दिइयो ।