काठमाडौं । वंशवादी शासन व्यवस्था पुनस्र्थापित गर्ने भनिएको संयुक्त जनआन्दोलन समितिको जनआन्दोलन बारे कुनै अभ्यास नभएर होला यतिबेला यो आन्दोलन आफैँ बिचल्लीमा परेजस्तो देखिँदैछ ।
यही जेठ महिनाभित्र अपदस्थ राजालाई पुनस्र्थापना गरिसक्ने भनेर घोषणा गरी सुरु भएको अनिश्चितकालीन आन्दोलनको दोस्रोचरण केन्द्रमा टिक्नै नसक्ने भयो । एउटा त प्रत्येक दिन कम उपस्थिति र अर्को आफैँभित्र अन्तरकलह र नेतृत्वले त्यसको उचित संयोजन वा सम्बोधन गर्न नसक्दा वा नजान्दा अब यो आन्दोलनको नेतृत्व केवल प्राविधिक मात्र रहन गएजस्तो देखिँदैछ ।
अपदस्थ राजाले आफू छिट्टै पुनस्र्र्थापन हुन हतारोमा गठन गरेको ‘संयुक्त जनआन्दोलन समिति’का संयोजक नवराज सुवेदीले पछिल्लो समय अनिश्चितकालसम्म अर्थात् राजा नआएसम्म जारी रहने भनिएको आन्दोलनको दोस्रोचरणको कार्यक्रम समेत विधिवत घोषणा गर्न सकेनन् । त्यसका लागि बोलाइएको बैठकबाट आफैँ भाग्नुपर्यो । पछि उनले आफ्नो निवासबाट वक्तव्य जारी गरेर केन्द्रमा चलिरहेको आन्दोलनलाई जिल्ला र गाउँतर्फ मोडे ।
यो भनेको एक प्रकारले उचाइमा पुगेको आन्दोलन फेरि फेदीमा पुग्नु हो । अपदस्थ राजालाई निर्मल निवासबाट नारायणहिटी ल्याएर थन्क्याउने भन्ने थियो । त्यसअनुसार नारायणहिटी घेर्ने काम पनि भयो । एक हप्ताजति यस्तै रमिता देखाएपछि आन्दोलन गाउँ र वडामा झारियो ।
राजावादी आन्दोलनका एक केटौले सहभागीका अनुसार उनीहरू यो आन्दोलनमा प्राय सधै सहभागी हुन्थे । सधैँ दिउँसो आन्दोलन वा जुलुसमा जाने गर्थे । ‘राजा ठीक छ, यी दलहरूले सप्पै सिध्याए’ भन्ने उनलाई पढाइएको रहेछ । उनकै भनाइमा ‘यो महिनाभरीमा राजा फर्किन्छ ।’
तर उनले यसो भनिरहँदा यता आन्दोलन भने गाउँ फर्काइसकिएको थियो ।
आन्दोलनको यस्तो दोस्रो चरणको कार्यक्रम यसका सहभागीहरूको छलफलबाट पनि घोषणा भएको होइन । अपदस्थ राजालाई छिटै, आन्दोलन सुरु भएको केही दिनभित्रै पुनस्र्थापना गर्ने भनी सार्वजनिकरूपमा नै बताइएको अवस्थामा आन्दोलन केन्द्रबाट लखेटिँदै गाउँ र नगरमा केन्द्रित गर्नु भनेको प्रारम्भ हँुदानहँुदै करिबकरिब समाप्त भएकै अवस्था हो ।
विज्ञहरूका अनुसार यस्तो हुनुमा नेतृत्वमा जनआन्दोलनको अनुभव नभएको अवस्था हो । यो आन्दोलनका संयोजक सुवेदी त्यस्ता व्यक्ति हुन जो निर्दलीय पञ्चायती व्यवस्थाको ३० वर्षसम्म त्यसबेला चलेका लोकतान्त्रिक आन्दोलनको निरन्तर प्रतिकार गर्नमा नै बिताए । पञ्चायत ढल्नै लागेका बेलामा समेत उनी केन्द्रीय प्रतिकार समितिका संयोजक नै थिए । उनकै शव्दमा –
‘आन्दोलनको समय (२०४६ पुसदेखि चैत्रसम्म) मा जिल्ला जिल्लामा प्रतिकार समिति गठन गर्न भनी प.नि.जा.बु.स.ले सूचना गरेको हो । यस्तो समितिले पञ्चायती व्यवस्थाप्रति आस्था व्यक्त गर्ने र पञ्चायतइतर पक्षको प्रतिकार गर्न, ¥याली सभाको आयोजना गर्ने गर्थे । प्रतिकार समिति जनआन्दोलनकै समयमा गठन भएको हो । प्रतिकार समितिलाई र्याली गर्न प.नि.जा.बु.स.बाट केही आर्थिक सहयोग गरेको पनि हो ।’
जनआन्दोलनको प्रतिकार गर्न राज्यको उपल्लो निकायबाट देशभर प.नि.जा.बु.स.बाट केही आर्थिक सहयोग गरेको पनि हो भने यतिबेला राजा पुनर्स्थापन गर्ने भनिएको यो जनआन्दोलन समितिको संयोजक नवराज सुवेदी त्यसबेला लोकतन्त्रका लागि चलिरहेको जनआन्दोलनको प्रतिकारका लागि राज्यबाट पैसा बाँड्ने संस्था प.नि.जा.बु.स.का अध्यक्ष थिए ।
प्रतिकारका लागि पैसा बाँड्ने व्यक्तिले आफ्नो नेतृत्वको आन्दोलनका लागि के गरे होलान् भन्ने अनुमान गर्न सकिन्छ । तर पनि आन्दोलन भने केन्द्रबाट गाउँतिर सारियो, मानौँ पुनस्र्थापित राजा बस्ने दरबार, राजगद्दी र श्रीपेच गाउँमा नै छ ।
यो आनदोलनमा आबद्ध भनिएका ४५ दल, समूह र अभियानको बैठक सम्पन्न भएको भनिएको दिन उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुको साथै भावी कार्ययोजनाका बारेमा समेत छलफल हुने भन्ने थियो । तर होहल्लाका कारण नेतृत्व नै लस्याकलुसुक भए ।
यसको बेलुका संयोजक सुवेदी निवासबाट यस्तो वक्तव्य जारी भयो जसमा राप्रपादेखिका आन्दोलनका सहभागी भनिएका कसैकोे पनि प्रतिनिधित्व थिएन । त्यो वक्तव्यमा आन्दोलनका नयाँ कार्यक्रम भन्दै यस्ता कुरा आए–
‘संयुक्त जनआन्दोलन समितिमा आबद्ध ४५ दल, समूह र अभियानको वैठक आज सम्पन्न भयो । उक्त बैठकमा गत एक हप्तादेखि सञ्चालन हुँदै आएको जनआन्दोलनको समीक्षा गरिनुका साथै भावी कार्ययोजनाका बारेमा समेत छलफल भयो । बैठकमा सहभागीहरूको उत्साह प्रशंसनीय रहेको थियो ।
बैठकले आन्दोलनमा उत्साहजनक जनसहभागिताको निमित्त सबैमा आभार प्रकट गरेको र बैठकको भावनालाई दृष्टिगत गर्दै संयुक्त जनआन्दोलन समितिले निम्नानुसार कार्यक्रम तय गरेको छ–
१. पहिलो चरणको आन्दोलनबाट प्राप्त अनुभवलाई दृष्टिगत गर्दै आन्दोलनको भावी स्वरूपमा केही परिमार्जन गर्ने ।
२. काठमाडौं उपत्यकाको विभिन्न पालिकाहरूमा विरोध प्रदर्शन निरन्तर जारी राख्ने ।
३. काठमाडौंका अतिरिक्त देशका विभिन्न प्रमुख सहरहरूमा विरोध सभा, धर्ना तथा जनप्रदर्शन गर्ने ।
४. आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने ।
५. देशका विभिन्न जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गर्ने ।
६. देशका विभिन्न जिल्लामा आन्दोलनका विभिन्न कार्यक्रम सञ्चालन गरिसकेपछि आन्दोलनलाई पुनः काठमाडौं केन्द्रित गर्ने ।
अबको आन्दोलनका कार्यक्रम भनी यसका संयोजकले लिखितरूपमा वितरण गरेका विवरणलाई आधार मान्ने हो भने राजावादीहरूको तेस्रो दल खुलेको मान्नुपर्ने हुन्छ ।
बुँदा नं ४ मा आन्दोलनलाई अझ सशक्त प्रभावकारी र उपलब्धिमूलक बनाउन स्थानीय तहदेखि नै संयुक्त जनआन्दोलन समिति गठन गर्ने र बुँदा नं ५ मा देशका विभिन्न जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गर्ने भनिएको छ ।
हाल संसद्मा पाँचौँ शक्तिमा रहेको राप्रपा त्यस्तो पार्टी हो जो सबै स्थानीय तहमा आफ्नो दलका स्थानीय निकायहरू छन् । तर सुवेदी नेतृत्वको संयुक्त जनआन्दोलन समितिले राप्रपाका यो इकाईलाई स्वीकार गरेन र संयुक्त जनआन्दोलन समितिका नाममा अर्को इकाई गठन गर्न निर्देशन दियो ।
बुँदा नम्बर ५ मा उल्लेख भएको ‘देशका विभिन्न जिल्लाहरूमा प्रतिबद्ध र जुझारु युवा कार्यकर्ताहरूको समूह तयार गर्ने’ भन्नुको अर्थ पनि यही हो ।
आन्दोलनका यस्ता कार्यक्रम घोषणा हुँदा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको उपस्थिति नरहेको भनेर त्यसैदिन समाचार आइसकेका छन् ।
उल्लेखित दोस्रो चरणको कार्यक्रम त घोषणा भयो तर त्यो कसरी, कहिले, कहाँ र कुन प्रकारले सञ्चालन हुने भन्ने प्रष्ट छैन । जस्तो कुनै आमसभा गर्ने हो भने यो दिन यति बजे यो ठाउँमा भन्ने हुन्छ । यो घोषणामा त्यस्तो उल्लेख भएको छैन ।
यता अवस्था कस्तो भने संयुक्त जनआन्दोलन समितिले दोस्रो चरणको कार्यक्रम घोषणा गरेको भोलिपल्ट आधा दर्जनजति युवा गणतन्त्र मुर्दावाद, महाराजधिराज जिन्दावाद ! भन्दै सिंहदरबारको दक्षिणी गेटमा प्रकट भए र पक्राउ पनि परे । यस्तो कार्यक्रम संयुक्त जनआन्दोलन समितिले गरेको दोस्रो चरणको कार्यक्रममा थिएन ।