काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले वैज्ञानिक आधारमा खाद्य स्वच्छताको सुनिश्चितता गरिने बताएका छन् । सत्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले शनिबार आयोजना गरेको मूल समारोह कार्यक्रममा उनले ७७ वटै जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रणका कार्यालय खोलेर खाद्य स्वच्छता कायम गरिने बताए । विभागमा यस वर्ष २० जना कर्मचारी थप गरिएको बताउँदै मन्त्री अधिकारीले खाद्य सामग्रीको परीक्षण र नेपालका सबै प्रयोगशालालाई अन्तर्र्राष्ट्रियस्तरको बनाइने जानकारी दिए । विद्युतीय माध्यमबाट सेवा प्रवाहका साथै दूध र पानीको नियमित परीक्षण गर्न पनि विभागका अधिकारीहरूलाई उनले निर्देशन दिए ।
यस्तै, उनले राष्ट्रिय खाद्य स्वच्छता नीति २०७६ अनुसारको परिषद् गठनका लागि गृहकार्य भइरहेको जानकारी दिए । विभागमा विगत सात वर्षदेखि मोबाइल भ्यान प्रयोग नभइरहेको अवस्थामा चालु आर्थिक वर्षदेखि नै त्यसको प्रयोग गरेर खाद्य अनुगमन गरिएको उनको भनाइ छ । यस्तै, उनले स्वदेशमा उत्पादन हुने खाद्य पदार्थको अनुगमनका लागि प्रत्येक वर्ष बजेट विनियोजन हुने गरेकाले यसको सही प्रयोग गर्न आग्रह गरे ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकुलपति प्राडा दिलीप सुब्बाले खाद्य स्वच्छताको अनुगमनमा जाने मानिस विज्ञ हुनुपर्ने बताउँदै सामान्य मानिसले खाद्य सामग्रीको अनुगमन गर्न नसक्ने बताए । खाद्य स्वच्छताको अनुगमन गर्न धेरै जनशक्ति चाहिने भएकाले त्यसअनुसार व्यवस्था गर्न पनि उनले मन्त्रालयसँग आग्रह गरे । विभागले नास्टसँग मिलेर अझै धेरै अनुगमन एवं अध्ययन, अनुसन्धानका काम गर्न सक्ने उपकुलपति सुब्बाको सुझाव थियो । पोषण र स्वास्थ्यलाई पनि खाद्य स्वच्छतासँग गाँस्नुपर्ने उनको भनाइ थियो । मन्त्रालयका कृषि सचिव डा गोविन्दप्रसाद शर्मा र पशु विकास सचिव डा दीपककुमार खरालले खाद्य स्वच्छता र गुण नियन्त्रणका लागि मन्त्रालयबाट नियमितरूपमा काम भइरहेको बताए । गत वर्ष ऐन आएको जानकारी गराउँदै उनीहरूले यस वर्ष नियमावली जारी गर्ने गरी तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडका कार्यकारी निर्देशक उर्मिला श्रेष्ठले खाद्य स्वच्छतासम्बन्धी सबै कानुनको पालना गरी विभागले दिएको निर्देशनअनुसार काम गर्ने गरिएको बताइन् । मन्त्रालयका पूर्वसचिव उत्तमकुमार भट्टराईले विश्व स्वास्थ्य संगठनभन्दा एक दशकअघिदेखि नेपालले खाद्य स्वच्छता दिवस मनाउन थालेको र यो राम्रो पक्ष भएको जानकारी दिए । विभागका महानिर्देशक सञ्जीवकुमार कर्णले विश्वमा खाद्य जनित दुई सय प्रकारका रोग लाग्ने गरेकाले खाद्य स्वच्छता कायम गरेर धेरै रोग नियन्त्रण गर्न सकिने बताए । विभागअन्तर्गत ३० जिल्लामा रहेका ४३ कार्यालयका करिब तीन सय ७५ जनशक्तिले नियमितरूपमा खाद्य स्वच्छता कायम गराउन काम गरिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा उपभोक्ता अधिकारवादीहरू ज्योति बानियाँ, माधव तिमल्सिना र बिमला खनालले खाद्य अस्वच्छता हुँदा गम्भीर रोगको शिकार हुनुपर्ने भएकाले यस विषयमा सरोकार भएका निकायको ध्यान जानुपर्ने बताए । खाद्य अस्वच्छताका कारण विश्वमा दैनिक ५५ जनालाई क्यान्सर हुने गरेको उनीहरूको भनाइ थियो । विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि राजेश एस पाण्डव र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनका नेपालस्थित देशीय निर्देशक केन शिमिजु, एफएचआई ३६० का प्रतिनिधि भगवान् श्रेष्ठ, विभागका उपमहानिर्देशक सोमकान्त रिजाललगायतले खाद्य स्वच्छता कायम गराउन सरोकार भएका निकायले हातेमालो गरेर काम गर्नुपर्नेमा जोड दिए ।
यस अवसरमा यसअघि राजधानीमा प्रभातफेरीको आयोजना गरिएको थियो । नेपालले सत्रौँ राष्ट्रिय खाद्य स्वच्छता दिवसका साथै सातौँ विश्व खाद्य स्वच्छता दिवस समेत मनाएको छ ।