काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानमा बृहत् वृक्षरोपण कार्यक्रम गरेको छ । बैंकले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरेको हो ।
यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहा नगरपालिकाको बालचौरमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा एक हजार कागतीका बिरुवा रोपेको छ । त्यसैगरी, बैंकले काठमाडौंको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा बैंकका नायब प्रमुख कार्यकारी सुमन पोखरेलको उपस्थितिमा तीन सयवटा बिरुवा रोपेको छ ।
बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगति सामुदायिक वन, मेचीनगर, झापालगायतका विभिन्न स्थानमा तीन हजार सात सयवटा र मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौर, मिथिला नगरपालिका (भाटिघारी सामुदायिक वन)लगायतका विभिन्न स्थानमा पाँच हजार ५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवालगायतका विभिन्न स्थानहरूमा दुई हजार तीन सय बिरुवा रोपेको छ । गण्डकी प्रदेशको बागलुङ र कास्कीलगायतका विभिन्न स्थानहरूमा दुई हजार एक सय, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्गलगायतका विभिन्न स्थानमा एक हजार पाँच सय, कर्णाली प्रदेशको वीरेन्द्रनगर र रास्कोटलगायतका विभिन्न स्थानहरूमा सात सय र सुदूरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगरलगायतका विभिन्न स्थानहरूमा दुई हजार ८६ बिरुवा रोपिएको बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट फरक–फरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५४ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, दुई सय दुईवटा शाखारहित बैंकि सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।