काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले विश्व वातावरण दिवस २०२५ तथा यस बैंकले गत वर्ष घोषणा गरेको ‘सांग्रिला ग्रीन सेभिङ’मार्फत एक खाताबराबर एक रुख रोप्ने प्रतिबद्धताअनुसार बिहीबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त प्रतिबद्धताअनुसार बिहीबार नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर १ ओखरपौवास्थित महालक्ष्मी मन्दिर आसपासको क्षेत्रमा वृक्षरोपण गरिएको हो । कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्वल सत्याल, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ, प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी, प्रमुख कर्जा अधिकृत रजित मास्के, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नम्बर १ का वडा अध्यक्ष पदमबहादुर श्रेष्ठलगायत सहभागी भएका थिए ।
कार्यक्रममा बैंकका सञ्चालक समिति अध्यक्ष उज्ज्वल सत्यालले वातावरण संरक्षणप्रति सचेत रहँदै विभिन्न गतिविधि सञ्चालन गर्ने क्रममा यस वर्ष वृक्षरोपण गरिएको र यसबाट स्थानीय नागरिकलाई वातावरण संरक्षणमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे । यस्तै ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले योे वृक्षरोपण कार्यको सरहाना गर्दै वातावरण संरक्षणमा हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।