नेपालगञ्ज । पर्यटन प्रवर्द्धनका लागि नेपालगञ्जमा आजदेखि तीनदिने वेस्टर्न ट्राभल मार्ट सुरु भएको छ । मार्टको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सांसद किशोरसिंह राठौरले बाँके र बर्दियामा पर्यटनको प्रशस्त सम्भावना रहेकाले यस क्षेत्रका प्राकृतिक, धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले विदेशी पर्यटकलाई आकर्षिक गर्ने योजना निर्माण गर्नुपर्नेमा जोड दिँदै बाँके र बर्दियामा चारतारे होटेलका स्तरमा घरबास (होमस्टे) निर्माण भएका बताए । राठौरले पर्यटन प्रवर्द्धनसम्बन्धी वर्षेनी गर्ने कार्यक्रमको समीक्षा गर्दै कमीकमजोरी सुधार गर्दै जानुपर्ने उल्लेख गरे । पर्यटन प्रवद्र्धनबाट यस क्षेत्रमा रोजगारीका अवसर सिर्जना हुनुका साथै आयआर्जन गर्न सकिने भएकाले यहाँका सरोकार भएका निकायले स्थानीय परिचालन गर्दै लाभ लिन सक्नुपर्ने उनको भनाइ थियो ।
लुम्बिनी प्रदेशसभाका सांसद मीना श्रेष्ठले पर्यटन क्षेत्रका नीति र योजना प्रभावकारी बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै पर्यटन प्रवद्र्धनका लागि नेपालगञ्जमा धार्मिक पर्यटनको प्रशस्त सम्भावना रहेको बताइन् । नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले भारत र नेपालबीचको सम्बन्ध प्रगाढ गर्न यस्ताखाले मार्टले सहयोग पुर्याउने उल्लेख गर्दै नेपालमा धार्मिक पर्यटकीयस्थलको अवलोकन गर्न भारतीय पर्यटकलाई आग्रह गरे । उनले भारतीय पर्यटकलाई सम्मानपूर्वक नेपाल ल्याउनुपर्ने आवश्यकता औँल्याउँदै नेपालगञ्ज पनि धार्मिक पर्यटकको आकर्षक गन्तव्य हुन सक्ने बताए ।
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य नरेन्द्रदेव भट्टले हिमाल, पहाड र तराईको अवलोकन गरेर विदेशी पर्यटक नेपालमा रमाउन सक्ने उल्लेख गर्दै त्यसका लागि पर्यटनमैत्री वातावरण हुनुपर्ने बताए । भारतको लखनऊका पर्यटन व्यवसायी राजेश सिन्हाले नेपाल र भारतबीचको आपसी सद्भावले धार्मिक पर्यटक यहाँ भित्र्याउन सके पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे । नेपाल एसोसिएसन अफ टुर्स एन्ड ट्राभल एजेन्टस (नाट्टा) का बाँके अध्यक्ष श्रीराम सिग्देलले भारतीय पर्यटकलाई नेपालमा सम्मानपूर्वक आउने वातावरण बनाइनुपर्नेमा जोड दिँदै सहज आवागमनको वातावरण भएमा पर्यटन प्रवद्र्धन प्रभावकारी बन्दै जाने बताए ।
नेपाल पर्यटन बोर्ड र नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना तथा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश, नेपालगञ्ज उद्योग वाणिज्य संघ, होटेल एसोसिएसन र होटेल व्यवसायी बाँकेको सहकार्यमा नाट्टाले तेस्रो संस्करणका रूपमा आजदेखि मार्ट आयोजना गरेको हो । तीन दिनसम्म सञ्चालन हुने मार्टमा भारतको पर्यटकीय सहर बनारस, अयोध्या, लखनऊ र गोरखपुरबाट ३५ जनाभन्दा बढी टुर अपरेटर सहभागी भएका वेस्टर्न ट्राभल मार्ट मूल आयोजक समितिले जनाएको छ । सहभागी पर्यटकलाई बाँके र बर्दियाका राष्ट्रिय निकुञ्जको भ्रमण पनि गराइने कार्यसूची रहेको छ ।