काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले लगानीकर्ताहरुलाई ४.५ प्रतिशत बोनस सेयर दिने प्रस्ताब गरेको छ । चौथो वार्षिक साधारणसभाले लगानीकर्ताहरुलाई वितरण गर्ने ४.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि २ करोड ४६ लाख ३१ हजार ५ सय ७८।९५ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
काठमाडौं, कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको उक्त सभाले सो प्रस्ताव पारित गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको आर्थिक प्रतिवेदन सहितको वित्तीय विवरणहरु पारित गरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणमा नेपालको इतिहासको सबैभन्दा ठूलो प्रारम्भिक सेयर निष्कासन सम्पन्न गरेको थियो । सो सेयर निष्कासन सम्पन्न गरे लगत्तै बसेको कम्पनीको तेश्रो वार्षिक सभाले तत्कालीन चुक्ता पूँजी १० अर्वको ४ प्रतिशतका दरले हुन आउने ४० करोड बराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी, सभाले प्रवन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।