काठमाडौं । नक्कली कारोबार देखाएर ठूलो परिमाणमा राजस्व छली गर्दै आएको आरभी ग्रुप अनुसन्धानको घेरामा परेको छ । काठमाडौं उपत्यकामा महँगा आवासीय संरचना तथा तारे होटल निर्माण तथा सजावटलगायतका क्षेत्रमा काम गर्दै आएको सो समूहले ठूलो परिमाणमा कर छली गरेको सूचना प्राप्त भएपछि अनुसन्धान अगाडि बढाइएको हो ।
सरकारी स्रोतका अनुसार आन्तरिक राजस्व विभागले अहिले ग्रुपको कारोबार छानबिन गर्न मातहतका कार्यालयमार्फत् कागजपत्र झिकाएर अनुसन्धान गरिरहेको छ भने राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोलगायतका निकायहरूबीचको समन्वयमा पनि थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको स्रोतले जानकारी दियो ।
आरभी ग्रुपले ‘युरेसियन इन्फ्रा’, ‘टाइम्स डेभलपर्स’, ‘आरभी इन्भेस्टमेन्ट’ र ‘माउन्टेन भ्यु (कार्यविनायक होम्स)’जस्ता कम्पनीहरू खडा गरी नक्कली कारोबार गरेको तथा उच्च खरिद गरेको देखाएर कर छली गर्ने गरेको आन्तरिक राजस्व विभागको अनुसन्धानमा खुलेको छ ।
कर छली गरी आर्जन गरेको रकम हुन्डीबाट भारतमा अवैधरूपमा पठाएर आफन्तमार्फत आरभी इन्फ्राटेक एन्ड स्टक्चर्स कम्पनीमा लगानी समेत गरेको केही संकेतहरू प्राप्त भएको अनुसन्धानमा संलग्न अधिकारीहरूको भनाइ छ । विशेषगरी ग्रुपले अर्नव इन्टरप्राइजेजमार्फतको कारोबारमा बढी नक्कली बिल प्रयोग गरेको फेला परेको छ ।
ग्रुपअन्तर्गतको युरेसियन इन्फ्रा कम्पनीले खरिद नै नगरेका सामग्रीको बिलविजक तयार गरी त्यसका आधारमा भुक्तानी गरेको तथ्य फेला परेको छ । झापामा कार्यालय रहेको भनिएको अर्नव इन्टरप्राइजेज नामक कम्पनीसँग युरेसियन इन्फ्रा प्रालिले शंकास्पद कारोबार गरेका बिल भौचर समेत हामीलाई प्राप्त विवरणमा उल्लेख छ । जसमा युरेसियन इन्फ्रा प्रालिले अर्नव इन्टरप्राइजेजको एभरेस्ट बैंक दमक शाखाको खाता नम्बर .....५२२ मा जम्मा गरेको रकम शंकास्पद रहेको आशंका गरिएको छ ।
त्यसबाहेक, ग्रुपअन्तर्गतका अन्य कम्पनीहरूले कर कार्यालयमा पेश गरेको विवरणमा पनि वास्तविक कारोबारभन्दा फरक विवरण प्रस्तुत गरिएको, नक्कली बिल प्रयोग गरी कर छली भएको देखिएको बताइएको छ ।
यस ग्रुपले सामग्री नै खरिद नगरी अर्नव इन्टरप्राइजेजबाट फर्जी बिल तयार पारेर बिक्रीभन्दा खरिदको लगत बढी देखाएर राजस्व हिनामिना गर्दै आएको हो । युरेसियन इन्फ्रा र अर्नव इन्टरप्राइजेजबीचको कारोबार शंकास्पद देखिएकाले दुवै कम्पनीको बैंक स्टेटमेन्ट मगाएर अनुसन्धान गर्ने तयारी भइरहेको अधिकारीहरूको भनाइ छ ।
यस विषयमा आरभी ग्रुपका सञ्चालक निश्चित मित्तलसँग सम्पर्क गर्न उनले कम्पनीमा फुल अडिटको काम चलिरहेको र आफूहरूले कुनै पनि बदमासी नगरेको बताए । उनले आफूहरूको कुरा समाचार आएकै पत्रिकामा प्रकाशित गरेर सबै कुरा बताइसकेकाले थप कुराहरू नभएको बताए ।
सरकारी निकायहरूसँग असन्तुष्ट सुनिएका मित्तलले सरकारी निकायकै कारण दुःख पाइरहेको समेत आर्थिक दैनिकलाई बताए । मित्तलले हरेक दुई वर्षमा कर कार्यालयले फुल अडिट गरेर अनावश्यक दुःख दिएको भन्दै आफूहरूको कारोबार पारदर्शी हुने बताए ।