काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएकै समयमा कीर्तिपुरस्थित निर्माणाधीन त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको काम सक्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले आइतबार त्रिवि मैदानको निर्माणाधीन प्यारापिट र फ्लडलाइट जडान कार्यको स्थलगत निरीक्षण गर्दै निर्माणमा ढिलाइ नगर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले कार्यभार सम्हालेपछि गत असार ३१ गते पहिलो निर्णयका रूपमा तीन सय दिनभित्र उक्त क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडान गर्ने घोषणा गरेका थिए ।
प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, सहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, उक्त निर्माण कार्यको कार्यान्वयन निकाय संघीय सचिवालय तथा व्यवस्थापन कार्यालयका प्रमुख चक्रवर्ती कंठसहित निर्माण व्यवसायीले हालसम्मको कार्यप्रगतिबारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गत वैशाख २२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा डाकेर सम्बन्धित अधिकारी र व्यवसायीसँग कार्यप्रगतिबारे छलफल गरी आगामी दुई महिनाभित्र काम सक्न निर्देशन दिएका थिए । प्यारापिट र फ्लडलाइट जडान कार्यका लागि फरकफरक ठेकेदार कम्पनीसँग क्रमशः गत पुस १९ र २२ गते सम्झौता भएको थियो ।