काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । अधिकारीले ऋण मिलाइदिने भन्दै सेवाग्राहीबाट लाखौँ घुस लिने गरेको पाइएपछि आयोगले उनीविरुद्ध विशेष अदालतमा तीन वटा मुद्दा दायर गरेको हो ।
आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार भुसाल हस्पिटालिटीअन्तर्गतको ¥याडिसन प्रोजेक्ट, हिमाल तराई कन्सन्ट्रक्सन र अकलादेवी ट्रेडर्सको नाममा ऋण उपलब्ध गराउने प्रक्रियामा सहजीकरण गरिदिने भन्दै घुस लिई भ्रष्टाचार गरेको पाइएको हो । अख्तियारले बैंकका तत्कालीन अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहित आधा दर्जन व्यक्तिविरुद्ध विशेष अदालतमा सोमबार तीन वटा आरोपत्र दायर गरेको हो । र्याडिसन प्रोजेक्टअन्र्तगतको एक अर्ब ७७ करोड २९ लाख ८६ हजार ऋण प्रवाहमा भएको अनिमिततामा पाँच जना, हिमाल तराई कन्सट्रक्सन कम्पनीको नाममा छ करोड रुपैयाँ ऋण प्रवाह हुँदा भएको अनियमितता प्रकरणमा दुई जना र अकलादेवी ट्रेडर्सको नाममा प्रवाह भएको २५ करोड रुपैयाँ कर्जामा अनियमितता भएको आधारमा छ जनाविरुद्ध आरोपत्र दायर भएको हो ।
अधिकारीसहितका यी व्यक्तिहरूले रुपन्देही जिल्ला सिद्धार्थनगर–१ बेलहियामा रहेको भुसाल हस्पिटालिटी अन्तर्गतको र्याडिशन प्रोजेक्टको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनी १९ लाख रुपैयाँ लिएको उजुरी परेपछि आयोगले अनुसन्धान थालेको थियो । र्याडिशन प्रोजेक्टले एक अर्ब ७७ करोड २९ लाख ८६ हजार सात सय ६६ रुपैयाँ ऋण लिन नेपाल बैकको प्रधान कार्यालयमा कागजात पेश गरी ऋण प्रक्रिया अगाडी बढाएको अनुसन्धानको क्रममा देखिएको थियो । ऋण प्रक्रियाको लागि नेपाल बैंक लिमिटेडमा कागजात पेश गरे पछि भुसाल हस्पिटालिटीका अध्यक्ष बालकृष्ण भुसाल र उनको छोरा एवम् भुसाल हस्पिटालिटीका सेयर सदस्य अंकित भुसालसँग अधिकारीले हवाटसएपमार्फत पटकपटक कुराकानी गरेको र त्यसपछि भेटघाट गरेको खुलेको छ ।
बैंकका तत्कालीन अध्यक्ष अधिकारीले नेपाल बैकबाट ऋण मिलाई दिन सहजीकरण गर्न गराउन प्रतिवादीहरू लक्की भन्ने खुस नसिब अन्सारी समेतका प्रतिवादीहरूसँगको मिलोमतोमा २०८१ भदौ ३० गते भुसाल हस्पिटालिटीका अंकित भुसालसँग रकम माग गरेका थिए । त्यसपछि बालकृष्ण भुसालको प्राइम बैंकको चेक प्राप्त गरी खुस नसिब अन्सारीकोमा काम गर्ने भारतीय नागरिक लक्की खान भनिने राकेश थापालाई चेक सटही गर्न लगाई सात लाख रुपैयाँ र शारदा गुप्ताको नाममा दर्ता रहेको अनन्य इन्टरप्राइजेजको सिटिजन्स बैंकको खातामा अमृत भुसालको एभरेस्ट बैकबाट १२ लाख रुपैयाँ ट्रान्सफर गरी कुल १९ लाख रुपैयाँ लिएको देखिन्छ । सो १९ लाख रुपैयाँ भारतीय नागरिक लक्की भन्ने खुस नसिब अन्सारीमार्फत चन्द्रबहादुर अधिकारीले प्राप्त गरेको भेटिएको छ । यो कारोबारको सबै विवरण अधिकारीको घरबाट २०८१ माघ २३ गते नै बरामद भएको आयोगको दाबी छ ।
आयोगले अध्यक्ष अधिकारीविरुद्ध अर्को एक घुस काण्डमा पनि आरोपत्र दायर गरेको छ । अधिकारीसहित छ जनाविरुद्ध अकला देवी ट्रेडर्सलाई ऋण उपलब्ध गराउन सहजीकरण गर्ने भन्दै ५० लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अधिकारीले जिल्ला तनहुँ आबुँखेरेनी–१ मा रहेको अकला देवी ट्रेडर्सको ऋण प्रक्रियामा सहजीकरण गरिदिन्छु भनेर ५० लाख घुस लिएको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान सुरु गरेको थियो । अकला देवी ट्रेडर्सलाई बैंकमा धितो राखी २५ करोड रुपैयाँ ऋण निकाल्न दानबहादुर कार्की, सुन्दरबहादुर बानियाँ र नारायणप्रसाद बरालले नेपाल बैंक लिमिटेड प्रधान कार्यालय न्युरोड, शाखा कार्यालय कालिमाटी र शाखा कार्यालय डुम्रे तनहुँमा समेत ऋण प्रयोजनको लागि प्रक्रिया अगाडि बढाएको भेटिएको छ । तत्काल मागबमोजिमको ऋण रकम उपलब्ध नभएपछि सन्तोष सुवेदीमार्फत अधिकारीले रकम लिएका थिए ।
अधिकारीले सन्तोष सुवेदीमार्फत दानबहादुर कार्की, नारायणप्रसाद बराल र सुन्दरबहादुर बानियाँसँग ऋण लिन लागेको रकम २५ करोडको दुई प्रतिशत अर्थात् ५० लाख रुपैयाँ घुस लिएकोे पाइएको छ । अधिकारीले २०८१ भदौ १७ गते एनआईसी एसिया बैंकमा रहेको सन्तोष सुवेदीको नामको खाताबाट नबिल बैंकमा रहेको अविनाश श्रेष्ठको खातामा पैसा पठाउन लगाएका थिए । त्यसको भोलिपल्ट भदौ १७ गते नै श्रेष्ठले आफ्नो खाताबाट पाँच लाख रुपैयाँ चन्द्रबहादुर अधिकारीकी श्रीमती मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरिदिएका थिए । त्यसपछि भदौ १७ गते एक लाख रुपैयाँ, भदौ १८ गते दुई लाख रुपैयाँ र भदौ १९ गते दुई लाख रुपैयाँ मधुमाया अधिकारीको राष्ट्रिय वाणिज्य बैंककै अर्को खातामा स्थानान्तरण गरेका थिए ।
यस्तै, मधुमाया अधिकारीको खाताबाट २०८१ भदौ ३० गते नौ लाख ९० हजार रुपैयाँ खुस नसिब अन्सारीले निकालेको र सो रकम चन्द्रबहादुर अधिकारीले नेपाल बैंकमा रहेको आफ्नो खातामा असोज ८ गते दुई लाख रुपैयाँ र १० गते चार लाख रुपैयाँ गरी जम्मा छ लाख रुपैयाँ लिएको पाइएको छ । यसबाहेक पाँच लाख रुपैयाँ पनि पटकपटक लिएको भेटिएको आयोगको आरोप छ ।
यो केसमा भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार प्रतिवादीहरू नेपाल बैंकका तत्कालीन अध्यक्ष डा शिवराज अधिकारीउपर १९ लाख रुपैयाँ, लक्की भनिने खुस नसिब अन्सारीविरुद्ध १९ लाख रुपैयाँ र अमृत भुसाल, अंकित भुसाल र बालकृष्ण भुसालविरुद्ध १९ लाख रुपैयाँ बिगो मागदाबी गरेको छ ।
आयोगले बैंकका तत्कालीन अध्यक्ष अधिकारीविरुद्ध हिमाल तराई कन्सट्रक्सन कम्पनीसँग सम्बन्धित कर्जा प्रकरणमा पनि घुस लिएको आधारमा आरोपपत्र दायर गरेको छ । यस आरोपमा डा अधिकारी उपर पाँच लाख रुपैयाँ र रमेश आचार्य उपर पाँच लाख रुपैयाँ बिगो माग गरेको छ ।
अधिकारीले हिमाल तराई कन्सट्रक्सन प्रालिसँग ऋण प्रक्रियामा सहजीकरण गर्ने भन्दै पाँच लाख रुपैयाँको चेक लिएको उजुरी परेको थियो । कन्स्ट्रक्सनले छ करोड रुपैयाँ ऋण लिन प्रक्रिया सुरु गरेपछि अधिकारीले घुस मागेका थिए । ऋण प्रक्रियाका लागि रमेश आचार्यले राजमान तामाङलाई अध्यक्ष अधिकारीसँग भेट गराइदिएका थिए । त्यसपछि अधिकारीले आफैँ एसएमएस, फोन र ह्वाट्सएपमार्फत कुराकानी गरी ऋण रकमको एक प्रतिशत घुस दिए ऋण स्वीकृत गरिदिने बताएका थिए । त्यसपछि तत्कालै पाँच लाख रुपैयाँको चेक लिएको पाइएको छ । सो चेक समेत अख्तियारले अधिकारीको घरबाट बरामद गरेको आरोप पत्रमा उल्लेख गरेको छ ।