काठमाडौं । धनुषाको औरही गाउँपालिकाको अस्पताल निर्माण गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका सांसद दिपेन्द्रकुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । ठाकुर धनुषा क्षेत्र नं. ३ (२)बाट निर्वाचित एमालेका सांसद हुन् ।
गाउँपालिकाको १५ शय्याको अस्पताल निर्माण गर्दा बोलपत्र आह्वान कार्यानुभवलाई संशोधन गरी सात दिन म्याद थप गरेको र त्यस्तो अनुभव केही सीमित कम्पनीको मात्रै भएको उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो ।
अख्तियारले ठेक्कापट्टामा भ्रष्टाचार गरेको अरोपमा ठाकुरसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूबाट छ करोड ७९ लाख १२ हजार तीन सय ८३ रुपैयाँ ९८ पैसा बिगो माग गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नीति तथा कार्यक्रमअन्तर्गत स्वीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमबमोजिम धनुषाको औरही गाउँपालिका वडा नं. २ स्थित देउरी पारवाहामा १५ शय्याको अस्पताल निर्माण गर्न २४ करोड ४३ लाख ५२ हजार छ सय ५० रुपैयाँ बराबरको लागत अनुमान तयार गरिएको थियो ।
अस्पताल निर्माणका लागि १२ करोड ३५ लाख ५० हजार दुई सय ४८ रुपैयाँ ८५ पैसाको प्रस्ताव पेश गर्ने प्रतिष्ठा/धुलिखेल/एक्सिस एसियन जेभी (संयुक्त उपक्रम)लाई ठेक्का दिनुपर्नेमा १९ करोड १४ लाख ६२ हजार छ सय ३२ रुपैयाँ ८३ पैसाको प्रस्ताव पेश गर्ने लुम्बिनी/डी एन्डएन जेभीलाई छनौट गरेर भ्रष्टाचार भएको अख्तियारले दाबी गरेको छ ।
अख्तियारले औरही गाँउपालिकाका तत्कालीन अध्यक्ष ब्रह्मदेव यादव, उपाध्यक्ष मीरादेवी सहनी, प्रमुख प्रशासकीय अधिकृत सुबोधकुमार ठाकुर, वडाध्यक्षहरू आशेश्वर यादव, अमितकुमार यादव, गंगाप्रसाद यादव, शिवनाथ साह, प्रमेश्वरकुमार मण्डल, दिलिपकुमार साहविरुद्ध मुद्दा चलाएको हो । यस्तै, गाउँपालिकाकै इञ्जिनियर सोनु साह, सब–इन्जिनियरहरु सन्तोषकुमार मण्डल, विनितकुमार साह, खरिदारहरु मोहनकुमार मण्डल, मनोजकुमार यादवमाथि मुद्दा चलाएको हो ।
मधेश प्रदेशका सांसद दिपेन्द्रकुमार ठाकुर ठेक्का प्राप्त गर्ने लुम्बिनी/डी एन्ड एन. जेभी तथा डि एन्ड एन बिल्डर्स प्रालिमा तत्कालीन समयमा प्रबन्ध निर्देशक थिए । यस्तै, लुम्बिनी बिल्डर्सकै तत्कालीन अर्का प्रबन्ध निर्देशक विष्णुप्रसाद शर्मामाथि पनि अख्तियारले मुद्दा दायर गरेको छ ।