काठमाडौँ । नेपाल नेत्रज्योति संघ र अर्विस इन्टरनेसनलबीच नेपालमा आँखा उपचारसम्बन्धी डिजिटल तालिम हबका रूपमा विकास गर्ने परियोजना सञ्चालनका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
आँखा स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने क्लिनिकल, पारामेडिक्स, व्यवस्थापन तथा प्रशासनिक कर्मचारीहरूलाई तालिम दिई दक्ष जनशक्तिको रूपमा विकास गर्ने उद्देश्यले उक्त सम्झौता गरिएको हो । नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दका अनुसार समय, आर्थिक अभाव, भाषा र विदेश गएर तलिम लिन नसक्नेलाई लक्षित गरी विश्वस्तरीय तालिम सञ्चालनका लागि यो परियोजना सञ्चालन गरिएको हो । भविष्यमा आवश्यकताअनुसार विभिन्न देशका विभिन्न भाषामा समेत तालिम सञ्चालन गरिनेछ ।
‘नेपालले आँखा उपचारका क्षेत्रमा गरेको प्रगति विश्वमै उदाहरणीय छ, अब विश्वस्तरमै सञ्चालन हुने क्षमता अभिवृद्धि तालिमहरू नेपालमै सञ्चालनका लागि नेत्रज्योति संघसँगको सहकार्यमा यो परियोजना सञ्चालन हुनेछ’ अर्विस इन्टरनेसन इन्डियाका कन्ट्री डाइरेक्टर डा ऋषिराज बोहराले भने । यो परियोजनाअन्तर्गतको तालिममा सहभागी हुने सहभागीहरूले भौतिकरूपमा आफैैँ उपस्थित भई वा स्यान्डबीच ब्लेन्डेड लर्निङ्ग एप्रोचबाट आफू कार्यरत जुनसुकै ठाउँबाट मोतियाविन्दुको, ऐन्टेरियर सेगमेन्ट, भिट्रियो रेटिना, जलविन्दु, अप्ट्रोमेट्री साइन्स, आँखा स्वास्थ्य कार्यक्रम व्यवस्थापन तालिम, वेट ल्याब व्यवस्थापन तालिमलगायतका अप्थाल्मिक विधाहरूको तालिममा सहभागी हुन सक्नेछन् । यसमा हाइ टेक्नोलोजी रिमोर्र्ट सर्जिकल किट्जस्ता अत्यन्तै अत्याधुनिक प्रविधिको प्रयोग समेत हुनेछ ।
अर्विसको साइबर साइट प्रविधिको प्रयोग गरी विभिन्न विधामा सिएमई र हस्पिटल बेस्ड तालिम नियमिमतरुपमा सञ्चालन गरिनेछ । त्यस्तै, यो परियोजनाअन्तर्गत सञ्चालन हुने तालिममा नेपालमा रहेका सम्पूर्ण आँखा अस्पतालहरू, मेडिकल कलेज, निजी आँखा अस्पतालहरू, स्वास्थ्य सेवा प्रतिष्ठानहरू, सरकारी स्वास्थ्य संस्थाहरूमा कार्यरत जनशक्तिहरूका समेत सहभागी हुन सक्नेछन् । उक्त तालिमहरूको सहजीकरण विश्वस्तरमै सम्बन्धित विषयमा ख्याति प्राप्त विषयविज्ञहरूद्वारा गराइनेछ ।
संघका कार्यकारी निर्देशक डा.शैलेश कुमार मिश्रका अनुसार परियोजना सञ्चालनका लागि हाललाई विराटनगर आँखा अस्पतालमा तालिम सञ्चालनका लागि आवश्यक सिमुलेटर, वेट ल्याब र रिमोट सर्जिकल किटलगायतका स्टेट अफ आर्ट फ्यासिलिटी तहको भौतिक संरचना तयार भई सञ्चालन भएको छ भने विस्तारै भैरहवाको श्री रणअम्बिका शाह आँखा अस्पतालमा समेत यो परियोजना विस्तार हुनेछ । यो परियोजनाले नेपालमा मात्र नभई विश्वमा नै उपचारपछि निको हुने अन्धोपना निवारण गर्न कोशेढुंगा साबित हुने अपेक्षा राखिएको छ । लहान आँखा तथा कान स्वास्थ्य कार्यक्रमका प्रमुख प्रशासक सुधिर ठाकुरले नेपालमै पहिलोपटक यो परियोजनामार्फत यस प्रकारको विश्वस्तरीय तालिम सञ्चालन गरिने बताए ।
संघका कार्यक्रम व्यवस्थापक रन्जन शाहका अनुसार हाललाई नेपालका जनशक्तिहरूलाई लक्षितगरी तालिम सञ्चालन गरिने छ भने अर्काे वर्षबाट देश बाहिरको जनशक्तिहरूका लागि समेत खुला गरिने छ । यो परियोजनाअन्तर्गत सञ्चालन गरिने तालिमहरू प्रकृति हेरी एक हप्ता, एक महिना, तीन महिना, एक वर्ष र दुई वर्ष अवधिका हुनेछन् ।