काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले चीन अटो चोङछिङ सम्मेलन २०२५ मा नेपालको प्रतिनिधित्व गर्दै सहभागी भएको छ । हालै चोङछिङ, चीनमा आयोजित यस सम्मेलनले परिवर्तनको चरणमा उद्योगको भविष्य निर्माण भन्ने मुख्य विषयवस्तुमा केन्द्रित हुँदै नयाँ ऊर्जा र स्मार्ट प्रविधिको संक्रमणबारे विश्वव्यापी छलफल गरेको थियोे । नाडाका अध्यक्ष करण चौधरीले चीन–आसियान सत्रमा प्यानलिस्टको रूपमा सहभागिता जनाउँदै नेपालको अटोमोबाइल क्षेत्र, व्यापारिक सम्भावना र क्षेत्रीय सहकार्यका बारेमा धारणा राखेका थिए । यस्तै, उनले दुई उच्चस्तरीय बन्द सत्रहरूमा पनि सहभागिता जनाएका थिए । सो कार्यक्रममा चीन–आसियान ईभी सहयोग, जसमा दिगो यातायात र विद्युतीय सवारी प्रवर्द्धनबारे समेत छलफल भएको थियो ।
सम्मेलनमा डेलिगेसन संवाद समेत आयोजना गरिएको थियो, जसमा बहुपक्षीय लगानी र व्यापार नीतिमा सहकार्यका सम्भावनाहरुबारे समेत विचार विमर्श गरिएको थियो । सम्मेलनमा नाडाले नेपालको व्यवसाय प्रवर्द्धन गर्ने स्टल समेत राखेको थियो, जसमा नेपालको विद्यमान बजार सम्भावनाहरू, नीतिहरूको अवस्था र वातावरण तथा नाडाले आउँदो अगस्टमा काठमाडौंमा आयोजना गर्ने नाडा अटो सो २०२५ को सम्बन्धमा समेत जानकारी प्रदान गरिएको थियो । यसबारे चिनियाँ अटोमोबाइल कम्पनीहरूले उच्च चासो देखाएका थिए ।
नाडाको उक्त सहभागिताले नेपालको क्षेत्रीय तथा अन्तर्राष्ट्रिय बजारलाई प्रवद्र्धन गर्न थप मद्दत पुगेको जनाइएको छ । सम्मेलनमा नाडाको तर्फबाट महासचिव सुरेन्द्रकुमार उपे्रती, केन्द्रीय कार्यसमिति सदस्यद्वय प्रकाश कपुरी, यमुना श्रेष्ठ, आमन्त्रित केन्द्रीय कार्यसमिति सदस्यद्वय अनुपकुमार बराल तथा नारायणप्रसाद पौडेल समेतको सहभागिता रहेको थियो । नाडाको इतिहासमा यस किसिमको सहभागिता पहिलोपटक भएको हो ।