काठमाडौँ । पठाओ नेपालले बाल अस्पताल निर्माणमा सहयोग गर्ने उद्देश्यले ‘राइड फर अ कज’ अभियान’ सुरु गरेको छ । डा भगवान कोइरालाको नेतृत्वमा निर्माण भइरहेको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच)लाई सहयोग गर्ने उद्देश्यले कम्पनीले मंगलबारदेखि असार २ गतेसम्म उक्त अभियान सञ्चालन गरेको हो । आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले अभियान सुरु गरेको पठाओ नेपालकी मार्केटिङ हेड सुरक्षा हमालले जानकारी दिइन् । अभियानअन्तर्गत प्रत्येक राइडबाट प्राप्त हुने रकमबाट केही हिस्सा बाल अस्पतालका लागि छुट्याइनेछ । ‘यसरी छुट्याइने रकम राइडरबाट नभई कम्पनीको आम्दानीबाट कट्टा गरिनेछ’, हमालले भनिन्, ‘पठाओ नेपालको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अभियान सञ्चालन गरिएको हो ।’
अभियानबाट संकलन हुन रकम बालमैत्री अस्पताललाई दिइने छ । उक्त रकमबाट अस्पतालको भवन निर्माण र अस्पतालको उपकरण खरिदलगायतमा खर्च हुनेछ । डा कोइराला नेतृत्वमा रहेको उक्त अस्पताल नेपालमा बाल स्वास्थ्य सेवा सुलभ र प्रभावकारी बनाउने दिशामा कार्यरत संस्था हो । डा कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल निर्माणको अभियान अघि सारेका छन् । कोशी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल निर्माण भइसकेको छ । अब भने काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।