काठमाडौँ । किराना खुद्रा चेन बिग मार्टले आफ्नो १६औँ वार्षिकोत्सव अवसर पारेर मोबाइल एप शुभारम्भ गरेको छ । राजधानीमा ‘बिग मार्ट गाला नाइट’ नामक कार्यक्रममा कम्पनीले नयाँ मोबाइल एपको आधिकारिक शुभारम्भ गरेको हो ।
बिग मार्टको मोबाइल एप अब एन्ड्रोइडमा उपलब्ध छ भने चाँडै आईओएसमा पनि ल्याउने तयारी गरिएको छ । एपमा ‘क्लिक एन्ड कलेक्ट’, मूल्य तुलना, नजिकको स्टोर खोजी, बिलिङ हिस्ट्री हेर्नु, छुट र रिवार्ड पोइन्टहरूजस्ता उपयोगी सुविधाहरू समावेश गरिएको छ । एप डाउनलोड गर्ने ग्राहकहरूले आफ्नो पहिलो अर्डरमा विशेष छुट समेत पाउनेछन् । साथै, कम्पनीले सेलिब्रेटी जोडी आयुष्मान जोशी, प्रियंका कार्की र उनीहरूको छोरी आयंका कार्की जोशीलाई ब्रान्ड एम्बेसडरका रूपमा घोषणा गरेको छ । बिग मार्टका सीईओ तथा प्रबन्ध निर्देशक शाश्वत ढकालले नेपालका हरेक छिमेकमा पुग्ने हाम्रो लक्ष्यअनुसार एपको शुभारम्भ गरेको बताए ।
१६ वर्षअघि एक स्टोरबाट सुरु भएको बिग मार्ट अहिले एक सय २० भन्दा बढी स्टोरहरूमा विस्तार भइसकेको छ । कम्पनीले भर्खरै ‘मिनी बिग मार्ट’ अवधारणा सार्वजनिक गरेको छ, यसले काठमाडौं उपत्यकाबाट बाहिरका क्षेत्रमा समेत आफ्ना सेवा विस्तार गरिरहेको छ । साथै, बिग मार्टले गुणस्तर, सुविधा र समुदायप्रतिको समर्पणका साथ लाखौँ ग्राहकहरूलाई सेवा दिइरहेको दाबी गरेको छ ।