इस्लामावाद । पाकिस्तानले यस वर्षको संघीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । यो निर्णय भारतसँगको पछिल्लो महिनाको तनावपूर्ण संघर्षपछि आएको हो, जुन पछिल्ला दशकहरूमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ । मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुवै आणविक शक्तिहरूबीच भीडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछि मात्र युद्धविरामको घोषणा गरिएको थियो ।
मंगलबार साँझ संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलरबराबरको बजेट प्रस्तुत गरे, जसको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुट्याइएको छ । यो अघिल्लो वर्षको दुई दशमलव १२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर)बाट बढेर यस वर्ष दुई दशमलव ५५ ट्रिलियन रुपैयाँ पुग्नेछ ।
यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदको वार्ता भइरहेको जानकारी दिइएको थियो ।
सन् २०२३ मा पाकिस्तान आर्थिक संकटको संघारमा पुगेको थियो । त्यतिबेला राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण देशको ऋणभार अत्यधिक बढेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट प्राप्त सात अर्ब डलरको राहतले देशलाई संकटबाट जोगाएको थियो । त्यसयता देशले केही मात्रामा आर्थिक सुधारको संकेत देखाएको छ, मुद्रास्फीति केही घटेको छ र विदेशी मुद्रा सञ्चिति पनि बढेको जनाइएको छ ।
बजेट घोषणा गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री औरंगजेबले भने, ‘हामी सही दिशामा अघि बढिरहेका छौँ । परिवर्तनका लागि दुईदेखि तीन वर्ष लाग्ने हुन्छ, तर हाम्रो लक्ष्यअनुसार हामीले राम्रो काम गरेका छौँ ।’ यो बजेटमाथि संसद्ले यस महिनाको अन्त्यतिर मतदान गर्नेछ । तर सत्तारूढ पक्षको स्पष्ट बहुमत भएकाले ठूलो परिवर्तन हुने सम्भावना छैन । आउँदो आर्थिक वर्षका लागि सरकारले ४.२ प्रतिशत जीडीपी वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ ।