काठमाडौं । ६० केजी सुन तस्करी प्रकरणमा जोडिएकी माओवादी कार्यकर्ता अमला रोकालाई लामो समयसम्म पनि प्रहरीले पक्राउ गर्न सकेको छैन । उक्त सुन तस्करीका मुख्य अभियुक्त तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ पक्राउ परेपछि अमला फरार छिन् । उनी दावाकी पत्नी हुन् । उनी कहाँ गए भन्नेबारे प्रहरीले अनौपचारिकरूपमा पत्ता लगाए पनि पक्राउ गर्न भने आलटाल गरिरहेको छ । स्रोतका अनुसार उनी भारतमा छिन् ।
पति दावा छिरिङ ६० केजी सुन तस्करी प्रकरणमा पक्राउ परेलगत्तै एक समूहले अमलालाई भगाएको थियो । स्रोतका अनुसार अमला केही दिनअघि भारतको अरुणाञ्चलस्थित गुम्बामा पुगेर फर्किएको स्रोतको दाबी छ । उनी पक्राउ परेको अवस्थामा उक्त सुन तस्करीमा राजनीतिक सम्बन्ध भेटिने भएका कारण माओवादीको एउटा पक्षले उनलाई भगाएको स्रोतको दाबी छ ।
त्यहाँ लामो समय रहँदा रोल्पा घर भएका अन्य मानिसले आफूलाई चिन्ने र त्यहाँकै स्थानीय र नेपाल प्रहरीलाई खबर गरिदिने भयले उनी एक साता बसेर अन्यत्र लागेको स्रोतले जनायो । यद्यपि, नेपाल प्रहरीले भने उनको स्थानबारे जानकारी पाएर पनि पक्राउ गर्न खासै चासो दिएको छैन ।
रोल्पाको थवाङ गाउँपालिका–७ मरन्ठाना घर भएकी रोकालाई त्यहाँ मजदुरी गर्ने रोप्पालीहरूले चिन्ने भएको कारण उनी अरुणाञ्चलको बौद्ध गुम्बामा एक साता बिताएर त्यहाँबाट हिँडेकी थिइन् । रोकाले आफू प्रहरीसँग पक्राउ पर्ने डरले भन्दा पनि आफूसँग जोडिएका माओवादी नेताका कारणले असुरक्षित महसुस गरेर भूमिगत हुनुपरेको उनी निकट स्रोत बताउँछ ।
यसअघि ६० केजी सुन तस्करी प्रकरणमा थुनामा रहेका श्रीमान् दावा छिरिङ, पत्नी अमलासहित त्यस समयमा अर्थमन्त्री रहेका माओवादी नेता वर्षमान पुन, पूर्वउपराष्ट्रपति हाल माओवादी उपाध्यक्ष नन्दबहादुर पुन ‘पासाङ’लगायतका परिवारसँग उठबस गरेको विभिन्न तस्बिर समेत सार्वजनिक भएको थियो ।
पूर्वउपराष्ट्रपति पासाङका दुवै छोरा जितेन्द्र र दिपेश सुन तस्करीमा मुछिएका छन् भने माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनिश पनि सुन तस्करी प्रकरणमा मुछिएपछि फरार छन् । अमला र उनका पति दावा छिरिङको रोल्पाका माओवादी नेताहरूसँग पारिवारिक सामिप्यता दर्शाउने विभिन्न तस्बिर सार्वजनिक भएपछि माओवादी नेताहरूमाथि समेत प्रश्न उठेको थियो ।
रोल्पाकै स्थायी बासिन्दा रहेका माओवादी उपमहासचिव वर्षमान पुनका भाइ प्रनिशसँग उनको निकट सम्बन्ध रहेको देखिएको थियो । सुन तस्करीमा मुछिएका वर्षमानका भाइ प्रनिश पनि अहिलेसम्म फरार छन् ।
उनै वर्षमानका भाइ प्रनिशले आफ्नै गृह जिल्ला रोल्पास्थित सुनछहारी गाउँपालिकामा रहेको सुनखानीमा हेलिकप्टरमा केही व्यापारी र प्राविधिक लगेर उत्खनन्का लागि प्रयास गरेका थिए । उक्त सुनखानीको स्थलगत अवलोकन गरेर फर्किएको प्रनिश र उनको समूहले सुन उत्खनन् गर्न भने सकेन । बरु प्रनिश आफैँ सुन तस्करीमा मुछिएर अहिले फरार रहेका छन् । उनकै लगानीमा खोलिएका सुन प्रशोधन गर्ने कारखानामा छापा हानेर प्रहरीले विभिन्न उपकरणहरू जफत गरेको थियो ।
त्यसलगत्तै नेपाल प्रहरीले अमलाको खोजी कार्य जारी राखेको बताएको थियो । यद्यपि, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारकै पालामा प्रहरी प्रशासनको मिलेमतोमा उनलाई भगाइएको खुलेको थियो । उनका पति दावा छिरिङको पक्राउपछि राजस्व अनुसन्धान विभागमा तत्कालीन अवस्थामा कार्यरत नेपाल प्रहरीका एसपी कृष्ण पंगेनीले अमला रोकासँग कुराकानी गरेको र त्यसलगत्तै पक्राउ गरेर उनलाई भारत भगाइएको थियो ।
उनलाई प्रहरीको पक्राउबाट छुटाएर सुरक्षित स्थानमा भगाउन तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठ, राजस्व अनुसन्धान विभागको प्रमुख नवराज ढुंगाना र एसपी पंगेनीको मिलेमतो रहेको तत्कालीन प्रहरी स्रोतले जनाएको थियो ।
त्यसयता बेपत्ता भनिएकी रोका भारततर्फ लागेकी थिइन् । यही क्रममा केही दिनअघि उनी अरुणाञ्चल पुगेर त्यहाँबाट अन्यत्र सुरक्षितस्थलतर्फ लागेकी हुन् । उनको गुप्तवासका पछाडि माओवादी नेताहरूसँगको सम्बन्ध प्रमुख कारण रहेको बताइन्छ ।
यहाँनेर स्मरणीय के छ भने सुन तस्करी प्रकरणमा श्रीमान् कारागारमा र आफू फरार रहेकी अमला रोकालाई सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा भने उनको संलग्नताबारे काहीँकतै उल्लेख गरिएको छैन ।
अमला मुछिएको ६० केजी सुन त्रिभुवन विमानस्थलबाट पक्राउ परेको केही समयपछि उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा गठित सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले आफ्नो प्रतिवेदनमा उनको संलग्नताबारे काहीँकतै केही पनि उल्लेख गरेको छैन । बरु, माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालगायत अन्यको तथ्यसहित संदिग्ध भूमिका रहेको उल्लेख गरेपछि प्रहरीले महरालाई पक्राउ समेत गरेको थियो ।
सोही प्रतिवेदनमा सुन तस्करी प्रकरणमा मुछिएर फरार रहेकी अमलाको नाम भने उल्लेख नगरिए पनि उनी हालसम्मै फरार रहनु निकै रहस्यमय रहेको जानकार स्रोतहरू बताउँछन् ।
यता, अमलाका आफन्तहरू भने उनको भूमिगत अवस्थाले निकै त्रासदीपूर्ण अवस्थामा रहेका छन् । उनी भूमिगत हुनुका पछाडि माओवादी नेताहरूसँगको सम्बन्ध मुख्य कारण रहेको उनका आफन्तहरूले गुनासो पोख्ने गर्छन् । अमलासँग नाम जोडिएका माओवादी नेताहरूले आफू फसिने डरले अझैसम्म भूमिगतरूपमै बस्न बाध्य गराएको रोकाका एक आफन्तले नाम उल्लेख नगर्ने सर्तमा बताए ।
‘नेताहरूले अनेकौँ स्वार्थपूर्ति गर्न प्रयोग गरे जब उसको पक्राउपछि समस्या हुने भयो त्यसपछि देशमै बस्न नदिएर भूमिगत भएर हिँड्न बाध्य गराएका छन् ।’, अमलाका ती आफन्तले गुनासो गरे । उनका अनुसार सुन तस्करीका आरोपी दावा छिरिङसँग अमलाको बिहे गराइदिन पनि तिनै माओवादी नेताहरूकै मुख्य भूमिका रहेकाले उनको गुमनाम जीवन निकै रहस्यमयी छ ।