काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशकमा सविना मास्के नियुक्त भएकी छिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको बुधबारको मन्त्रीस्तरीय निर्णयले मास्केलाई कम्पनीको निमित्त प्रबन्ध निर्देशक भई कामकाज गर्न तोकिएको हो ।
यसअघि उनी कम्पनीको नायब प्रबन्ध निर्देशकको रूपमा प्रमुख प्राविधिक अधिकृतको कार्यभार सम्हाल्दै आएकी थिइन् । उनले बुधबारदेखि नै निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हालेकी छिन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडीविरुद्ध बिलिङ प्रणालीको मर्मतसम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार अभियोग लागेपछि सरकारले सो पदको जिम्मेवारी मास्केलाई दिएको हो । अख्तियारले यही मुद्दामा सङ्गीता पहाडीसहित विनिता श्रेष्ठ, सुनील पौडेल, प्रतिभा श्रेष्ठ, हेमप्रभा रामप्रताप कर्ण, नवल चौधरी, राजेन्द्र श्रेष्ठ, झविन्द्रलाल उपाध्याय, देवेन्द्र खतिवडा, राजीवकुमार केसी, मुक्तिप्रसाद अर्याल, सन्तोषकुमार श्रेष्ठ, परमात्मा भट्टराई, शैलेश श्रेष्ठ तथा विदेशी नागरिक लङ यङ, चिनियाँ नागरिक होङ वी र चिनियाँ कम्पनी एसिया इन्फो प्रालिविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक मास्केले चीनको डालियान मेरीटाइम युनिभर्सिटीबाट बीई गरेकी छिन् । उनले २०४९ माघ २५ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५१ फाल्गुण १० मा कम्पनीको सेवामा स्थायी नियुक्ति लिएकी थिइन् भने २०७८ माघ १८ गते नायब प्रबन्ध निर्देशक पदमा नियुक्त भएकी थिइन् । पदभार ग्रहण गर्दै उनले विषम परिस्थितिमा आफूप्रति मन्त्रालयले प्रदान गरेको जिम्मेवारीलाई सबैको साथ र सहयोग लिएर पूरा गर्दै कम्पनीको प्रगतिका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाइन् ।