काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र नेपालकै उत्कृष्ट होटल ग्रुपमध्ये पर्ने आइएमई हस्पिटालिटीबिच एससीटी–यूपीआई कार्डका ग्राहकहरूलाई ग्रुपअन्तर्गतका होटेलमा १५ प्रतिशतसम्मको छुट हुने सम्झौता सम्पन्न भएको छ ।
यस सम्झौतापश्चात् यही जुन १, २०२५ देखि डिसेम्बर ३१, २०२५ सम्म लाजिम्पाटस्थित होटलले हिमालय र साके एंड फेंग, तथा पोखरास्थित लेकसाइड रिट्रिटमा एससीटी–यूपीआई कार्डका ग्राहकले कार्डबाटै भुक्तानी गरेमा फूड एन्ड बेभेरेज बिलमा तथा रुमको महसुल दरमा १५ प्रतिशतसम्म छुट पाउनेछन् । रुम महसुलमा छुट पीओएसमा हुने कारोबारमा मात्र उपलब्ध हुनेछ ।
एससीटीले हाल २१ वटा बैंक तथा वित्तीय संस्था र एक सयभन्दा बढी सहकारी संस्थाहरूमार्फत एससीटी–यूपीआई जारी गर्दै आइरहेको छ । यो अफरमार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ । एससीटी–यूपीआई कार्ड नहुने ग्राहकहरूले पनि यस अफरमा सहभागी हुनलाई आफ्नो नजिकैको बैंक तथा वित्तीय संस्थामा गएर एससीटी–यूपीआई कार्ड माग गरी कार्ड प्राप्त गर्न सक्नेछन ।