लुम्बिनी । चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरिएका मुद्रामध्ये नेपाली एक करोड ९१ लाख र भारतीय एक करोड ५५ लाख रहेको जनाएको छ ।
कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका बताए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् ।
अनुसन्धान अधिकृत घिमिरेले चालु आवमा भएको बरामदको विवरण अनुसार बुटवल आसपासबाट मात्रै तीन करोड ४६ लाखभन्दा बढी अवैध रकम बरामद भएको जानकारी दिए । उनका अनुसार विदेशी मुद्राको अवैध कारोबारमा भारतीय मुद्रा, अमेरिकी डलर, युएई दिराम तथा नेपाली रुपैयाँ रहेका छन् ।
राजस्व अनुसन्धान टोली र नेपाल प्रहरीको संयुक्त प्रयासमा त्यस्ता मुद्राहरूको कारोबार, सीमानाकामा ओसारपसार र वैधानिक स्रोतबिनाका गतिविधिमा संलग्न समूहमाथि कडा निगरानी गरी विभिन्न गाडी, यात्री र झोलाबाट उक्त रकम जफत गरिएको घिमिरेले बताए ।
यस्ता अवैद्य रकमसहित भारतीय नागरिक पक्राउ परेको उल्लेख गर्दै घिमिरेले रुपन्देहीका बुटवल, मर्चवारी, बेलहिया, रैनादेवी, चम्पानगर तथा कपिलवस्तुको कृष्णनगरलगायत सीमावर्ती क्षेत्रहरूमा निगरानी कडा पारिएको जानकारी गराए ।
अनुसन्धान अधिकृत घिमिरेले तस्करीको सुनसहित व्यापारीले सीमापारी पुगेर लेनदेन गर्ने गरेको रकम पटकपटक गरी नेपाल भित्र्याउने गरिएको हुनसक्ने आशङ्का व्यक्त गरे । “सोको पुष्टि हुनेगरी केही विवरण र मालिक पत्ता लागेका छन् तर अनुसन्धान भइरहेकाले अहिलेसम्म सार्वजनिक भने गरिएको छैन”, उनले भने ।
आपराधिक गतिविधिमाथि सुदृढ अनुगमन, प्रविधिको प्रयोग तथा अन्तरनिकाय समन्वयमार्फत कडाइका साथ नियन्त्रणको अभियान सञ्चालन गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताए।