काठमाडौं । नेपालमा बीएमडब्लु गाडीको एक मात्र आधिकारिक आयातकर्ता तथा डिलर लक्ष्मी प्रिमियम मोटर्सले नयाँ बीएमडब्लु आइएक्स२ इलेक्ट्रिक एक्सएभी (स्पोट्र्स एक्टिभिटी भेहिकल) भित्र्याएको छ ।
कम्पनीले आफ्नो इलेक्ट्रिक लाइनअप विस्तार गर्दै नयाँ बीएमडब्लु आइएक्स दुई ड्राइभ २० नेपालमा सार्वजनिक गरेको हो । यस गाडीले अधिकतम एक सय ५० केडब्लु÷दुई सय चार एचपी (अस्थायी बुस्टसहित) पावर उत्पादन गर्छ भने यसको रेन्ज चार सय ३० देखि चार सय ७५ किलोमिटरसम्म (डब्लुएलटीपी प्रारम्भिक अनुमानअनुसार) रहेको छ । कम ऊर्जा खपत(प्रतिएक सय किमी १७ दशमलव दुईदेखि १५ दशमलव चारसम्म) र शून्य उत्सर्जन भएको यो गाडीले प्रिमियम कम्प्याक्ट एसएभी सेग्मेन्टमा उत्कृष्ट रोजाइ प्रदान गर्दछ ।
कम्पनीका अनुसार अन्य इलेक्ट्रिक गाडीहरूजस्तै नयाँ–नयाँ बीएमडब्लु आईएक्स २ मा पनि पाँचौं पुस्ताको बीएमडब्लु इन्ड्राइभ प्रविधि प्रयोग गरिएको छ । यसले २५० एनएम टर्क उत्पादन गर्छ र आठ दशमलव छ सेकेन्डमा शून्यदेखि एक सय किमी÷घण्टाको गतिमा पुग्न सक्छ । यसको अधिकतम गति एक सय ७० किमी÷घण्टा रहेको छ । ब्याट्रीको स्थान र तौल सन्तुलनलाई ध्यानमा राखी गाडीको फ्लोरमा राखिएको हाई–भोल्टेज ब्याट्रीले ६६ दशमलव पाँच किलोहर्ज ऊर्जा प्रदान गर्दछ । यसमा रहेको आधुनिक मोटरले कम ऊर्जा खपत गरी अन्य गाडीहरूभन्दा धेरै दूरीसम्म चल्न सक्षम बनाउँछ ।
नयाँ बीएमडब्लू आईएक्स२मा चार्जिङको लागि प्रशस्त विकल्पहरू रहेका छन् । यसमा रहेको संयुक्त चार्जिङ युनिटले ११ किलोवाटसम्मको एसी चार्जिङ सपोर्ट गर्दछ । छिटो चार्जिङको लागि एक सय ३० किलोवाटसम्मको डिसी चार्जिङ पनि उपलब्ध छ । स्मार्ट ‘थर्मल प्रि–कन्डिसनिङ’ र एड्भान्स्ड चार्जिङ सफ्टवेयरले चार्जिङ स्पिड र ब्याट्रीको आयु दुवैलाई लामो समयसम्म कायम राख्छ । बीएमडब्लु आईएक्स२मा लक्जरी इन्टेरियर फिचरहरू समावेश छन् । साथै, यसमा डाइनामिक ब्रेक कन्ट्रोल र अटो होल्डसहित अत्याधुनिक सुरक्षा प्रणाली रहेको कम्पनीले जनाएको छ ।
सुरक्षित यात्राको लागि यसमा सवारी चालक र यात्रुका लागि एयरब्याग, डाइनामिक ब्रेक कन्ट्रोल, अटो होल्ड फङ्सनसहितको इलेक्ट्रोमेकानिकल पार्किङ ब्रेक र इन्टेग्रेटेड ब्रेकिङ सिस्टम राखिएको छ । नयाँ बीएमडब्लू आईएक्स२को आगमनसँगै नेपालमा प्रिमियम इलेक्ट्रिक गाडीको क्षेत्रमा बीएमडब्लुले आफ्नो उपस्थिति अझ बलियो बनाएको कम्पनीको दाबी छ ।