काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारको लागि धितोपत्र बोर्डका पूर्वअध्यक्ष डा. रेवतबहादुर कार्कीको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको छ । राष्ट्र बैंकका अनुसार एक महिनाको समय तोकेर केही ‘टीओर’सहित बैंकिङ क्षेत्र सुधारको लागि सुझाव समिति गठन गरिएको हो ।
सो समितिमा बैंकर भुवन दाहाल र राष्ट्र बैंककै कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल सदस्य छन् । अध्ययन समितिले गभर्नर डा. विश्वनाथ पौडेललाई एक महिनाभित्र सुझावसहितको प्रतिवेदन बुझाउने कार्यादेश पाएको छ । अध्ययन समितिले आगामी आर्थिक वर्षको मौद्रिक नीति तर्जुमा अघि नै प्रतिवेदन बुझाउने छ ।
मौद्रिक नीतिभन्दा पनि नियामकीय नीतिमा आवश्यक सुधार र परिमार्जनको सुझावको लागि समिति गठन गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । नेपाल राष्ट्र बैंकले बाहिरबाट सुझावका लागि अध्ययन समिति गठन गरेको यो पहिलोपटक भएको पनि राष्ट्र बैंकले जनाएको छ ।