काठमाडौं । बीमा कम्पनीहरूले आर्जन गर्ने बीमा शुल्क रकम बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको १० महिना (साउन–वैशाख)सम्म सञ्चालनमा रहेका १४ वटा निर्जीवन र १४ वटा जीवन गरी २८ वटा बीमा कम्पनीहरूले कुल एक खर्ब ७६ अर्ब २१ करोड ५३ लाख ११ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । जुन गत आर्थिक वर्ष (आव)को सोही अवधिको तुलनामा १४ दशमलव तीन प्रतिशतले बढी हो । एक वर्षअघि बीमा कम्पनीहरूले एक खर्ब ५४ अर्ब ५३ करोड दुई लाख २९ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका थिए ।
समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको एक खर्ब ४० अर्ब ३५ करोड दुई लाख ६३ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा १५ दशमलव ५५ प्रतिशतले बढी हो । गत आवको पहिलो १० महिनामा जीवन बीमा कम्पनीहरूले एक खर्ब २१ अर्ब ४६ करोड १४ लाख ७३ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । यस्तै, निर्जीवन बीमा कम्पनीहरूले पनि यस आर्थिक वर्षको पहिलो १० महिनामा ३५ अर्ब ८६ करोड ५० लाख ४८ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । जुन एक वर्षअघिको तुलनामा आठ दशमलव ४६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब छ करोड ८७ लाख ५६ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।
गत वैशाखसम्म निर्जीवन बीमा कम्पनीहरूमा कुल बीमालेखको संख्या उल्लेख्यरूपमा बढे पनि जीवन बीमा कम्पनीहरूमा एक दशमलव नौ प्रतिशतले मात्रै बढेको छ । जीवन बीमा कम्पनीहरूमा गत वैशाखसम्म कुल जारी बीमालेखको संख्या ५६ लाख ४७ हजार नौ सय नौ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा एक दशमलव नौ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा कुल जारी बीमालेखको संख्या ५५ लाख ४४ हजार आठ सय ८५ थियो । यसैगरी सक्रिय जीवन बीमालेखको संख्या गत वैशाखसम्म एक करोड ५३ लाख छ हजार नौ सय ९३ छ । जुन एक वर्षअघिको तुलनामा नौ दशमलव ६८ प्रतिशतले बढी हो । गत वर्ष वैशाखमा सक्रिय जीवन बीमालेखको संख्या एक करोड ३९ लाख ५५ हजार आठ सय ८७ थियो । गत वैशाखसम्म निर्जीवन बीमालेखको संख्या २६ लाख ६६ हजार आठ सय ८७ पुगेको छ । जुन एक वर्षअघिको तुलनामा सात दशमलव ५९ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा निर्जीवन बीमालेखको संख्या २४ लाख ७८ हजार आठ सय २७ थियो ।
चालु आवको वैशाख मसान्तसम्ममा बीमाको दायरामा आएको कुल जनसंख्या प्रतिशत म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित ४७ दशमलव ३९ प्रतिशत छ । जुन एक वर्षअघिको तुलनामा तीन दशमलव ८३ प्रतिशत बढी हो । गत वर्ष वैशाखमा बीमाको दायरामा आएको कुल जनशंख्या ४३ दशमलव ५६ प्रतिशत थियो ।