काठमाडौं । काठमाडौं महानगरपालिका–२३ वडा कार्यालयको आयोजनामा धर्मपथ महोत्सव हुने भएको छ । स्थानीयहरूले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवर्द्धन, नेवाः खाजाको ब्रान्डिङ गर्ने उद्देश्यले शुक्रबारदेखि सो महोत्सवको आयोजना गरिएको हो ।
सो महोत्सवमा स्थानीय क्लब, संघसंस्थाको सक्रिय सहभागिता रहने छ । महोत्सवमा वडाबाट विभिन्न तालिम भएका महिलाहरूले उत्पादन गरेका विभिन्न सामग्री र नेवाः खानाका प्रकारहरूको स्टलहरू राखिनेछ । त्यसैगरी बालबालिकाहरूलाई मनोरञ्जन गर्ने किड्स जोन, बाथ रोगसम्बन्धी स्वास्थ्य शिविर राखिने वडा कार्यालयले जनाएको छ । महोत्सव अवधिभर विभिन्न गुठीको परम्परागत बाजाको प्रस्तुति, कुटुम्ब ब्यान्डको प्रस्तुति गर्ने कार्यक्रम रहेको छ । यसअघि काठमाडौं महानगरपालिकाकोे कार्यालयको सांस्कृतिक भवनमा सो महोत्सवको उद्घाटन गरिने वडाध्यक्ष मचाराजा महर्जनले जानकारी दिए ।
वडाका विभिन्न महिला समूहद्वारा उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी कक्षका रूपमा ओमबहालमा कोशेली घरको सञ्चालन गरिने छ । यस महोत्सवबाट पर्यटकीय गन्तव्यको रूपमा धेरै समयसम्म परिचित झोँछेलाई पुनः पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तथा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धन गर्न टेवा पुर्याउने विश्वास लिइएको छ ।