काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल २४ गुल्म हेड क्वाटरको आयोजनामा सञ्चालन गरिएको मनसुनजन्य विपद् प्रतिकार्य कृक्तिम अभ्यासलाई सम्बोधन गर्दै काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विपद् व्यवस्थापन र विपद्जन्य जोखिम न्यूनीकरणका लागि तीन तहको सरकारबिच आवश्यक समन्वय र सहकार्य जरुरी रहेको बताइन् ।
संघ, प्रदेश र स्थानीय सरकारबिच नीति निर्माणमा मात्र नभई विपदको जोखिम न्यूनीकरण र उद्धारमा पनि समन्वय अपरिहार्य रहेको भन्दै उपप्रमुख डंगोलले सङ्कटको बेलामा स्थानीय तह नै नागरिकको सबैभन्दा नजिकको सरकार भएको हुँदा विपद् जोखिम न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका समेत महत्वपूर्ण हुने बताइन् ।
नेपाल प्राकृतिक प्रकोपका दृष्टिकोणले संवेदनशील मुलुक भएको उल्लेख गर्दै सशस्त्र प्रहरी बल नेपाल का वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले जलवायु परिवर्तनको प्रभावले बाढी र पहिरोको जोखिम बढेको बताए । बाढी तथा डुबानको कारण उपत्यउकामा वर्षेनी ठुलो धनजनको क्षति हुँदै गइरहेको बताउँदै उनले नेपाल जलवायु परिवर्तनको हिसावले चौथो र बाढी पहिरोको हिसाबले ३०औँ अति जोखिम राष्ट्रहरुमध्येमा रहेको जानकारी दिए ।
नेपाल भौगोलिक बनावटले गर्दा प्राकृतिक प्रकोपको दृष्टिकोणले एकदमै संवेदनशील रहेको उनको भनाइ छ । आवश्यक पूर्वतयारी र जनशक्तिलाई तालिम प्रदान गर्नुपर्नेमा जोड दिंद उनले पछिल्ला वर्षहरुमा काठमाडौँ उपत्यामा समेत बाढी र डुबानका कारण ठुलो धनजनको क्षति भएको उल्लेख गरे ।