काठमाडौं । जननेता बीपी कोइरालाका कान्छा छोरा तथा कांग्रेस नेता डा. शशाङ्क कोइराला ०८२ साल जेठ महिनाको दोस्रो हप्तादेखि पद र टिकट बेचुआ, घुस्याहा नेताका रूपमा सामाजिक सञ्जाल छापा इलेक्ट्रोनिक मिडिया (हातहातका मोबाइल)मा अडियो भिडियो सुनेदेखेपछि झण्डै ६ । ७ वर्षअघि आफूले नेता बन्ने सल्लाह दिएको, किन नमानेका रहेछन् ? भन्ने अहिले आएर छर्लङ्ग भएको छ । मैले शशाङ्कलाई नेता (बीपी विचारको राजनीतिक उत्तराधिकार) बन्ने सल्लाह (उपाय) दिँदा हालका बहुचर्चित प्राज्ञ डा. सुरेन्द्र केसी साक्षी थिए र उनले मञ्चबाटै शशाङ्कलाई रेवतीजीको कुरो भनेर प्रश्न पनि गरेका थिए । शशाङ्क प्रमुख अथिति रहेका मेरो त्यो सम्बोधनलाई खोज्ने हो भने अहिले पनि आर्काइभ (गुगल)मा भेट्न सकिन्छ ।
बीपीका कान्छा छोरा डा. शशाङ्कलाई सल्लाह दिने म को हुँ ? र किन उनले मेरो सल्लाह मान्नु पर्दथ्यो ? भन्ने सन्दर्भमा अलिकति पृष्ठभूमि इतिहास यहाँ उल्लेख हुनु आवश्यक हुन्छ ।
विसं २०२९ साल बनारस सारनाथमा बीपीसँग भेट हुनुअघि कमरेड पुष्पलालसँग एक वर्ष नियमित नेपाली जनआन्दोलन विषयक कलास लिएको र अखिल भारत नेपाल विद्यार्थी संघ (अभानेवीसंघ) बनारस शाखाको युनियन निर्वाचनमा समाजसेवा सचिवमा निर्वाचित भएको विद्यार्थी नेताको पृष्ठभूमि थियो ।
बीपीले मोहनी शैलीमा पुष्पलालबाट आफूतिर तान्नुभयो । गिरिजाले बम बोकाउँदा फाँसी या जन्मकैद हुने राजकाज मुद्दामा जेलको पनि जेल कालकोठरीमा फ्याँकिएँ । छ वर्षको काराबासपछि बीपीको मेलमिलाप नीतिको परिणम आम माफीमा परेर ०३७ सालमा जेलमुक्त भएँ । एमेनेस्टीको जर्नलमा मेरो काराबासको तस्बिर छापिएका कारण एउटै मुद्दाका नक्खुको ओरालोमा मारिएका चार सहिदमा पाँचौँ हुन पाइनँ । यसै प्रसङ्गलाई प्रदीप गिरिले ‘जिउँदो सहिद’ बोल्ने लेख्ने गर्नुहुन्थ्यो । जेलबाट छुटेपछि बीपीले जनमत सङ्ग्रहका आफ्ना आमसभाहरूमा जेलबाट छुटेका मध्ये सबैभन्दा कान्छा उमेरका भनी परिचय दिँदै मञ्चहरूमा आफैसँग राखेर भाषण गर्न सिकाउनुहुन्थ्यो । बीपीको त्यो स्नेह र विश्वास त्यसबखतको कांग्रेसमा स्वतः एउटा अग्लो ठाउँ हुन जान्थ्यो । बीपीले त्यसअघि नेविसंघको केन्द्रीय कार्यालयमा नभएको पद कार्यालय सचिव खडा गरेर त्यसमा राखिदिनुभयो । विमलेन्द्र निधि अध्यक्ष र दिलबहादुर घर्ती महासचिव थिए । ‘कार्यालय सचिव’का हैसियतले संगठनको मुखपत्र संक्रान्ति प्रकाशन गर्न खोज्दा निधिबाट अनुमति भए पनि घर्तीबाट लफडा भयो । मेरा हालसम्मका १२ । १५ पुस्तकहरूमा त्यो ‘लफडा’का बारेमा प्रशस्त आइसकेका हुनाले यहाँ विवरणमा जान्नँ । नेविसंघबाट पार्टीमा सक्रिय हुने बीपीसमक्ष प्रस्ताव राख्दा किसुनजीको लाइन समात्नु सल्लाह दिनुभयो । बीपीको त्यो सल्लाह मेरा लागि गुरुमन्त्र थियो । किसुनजीको लाइन भनेको– ‘प्राण गएको मानिस र विचार हराएको पार्टी एउटै हो –लास । लासको प्रकृति समयमै अन्त्येष्टि भएन भने त्यो कुहुन्छ, गनाउँछ र रोग फैलाउन थाल्छ । ’
त्यो लाइनमा आज ७० वर्षको उमेरमा पनि अहोरात्र प्रतिबद्ध छु र त्यसै प्रतिबद्धताको जगमा उभिएर बीपीपुत्र डा. शशाङ्कलाई बीपी विचारका आधारमा नेतृत्व विकसित हुने, नेता बन्ने एउटा उपाय सल्लाह दिने कर्तव्य निर्वाह गरेको थिएँ । ०३९ सालामा बीपीको देहावशानपछि २०४६ सालको जनआन्दोलन अघिको त्यस अवधिमा ‘पञ्चायतको विकल्प दुई दलीय व्यवस्था’ लेख्दा छाप्ने पत्रिकाको दर्ता खारेजी, सम्पादकलाई जेल भएको र ‘कुमारी भान्जी’ कथा लेख्दा कांग्रेसभित्रैबाट कुटिने लखेटिने भएको लगायतका तमाम सन्दर्भहरू यहाँ थप चर्चा आवश्यक परेन ।
अब आऔँ शशाङ्कले नेता बन्ने मेरो कुन सल्लाह मानेनन् र आजको हविगत (घुस्याहा नेता) मा आइपुगेका भन्ने प्रतिपाद्य मूल विषयमा ।
पोखराका सुपरिचित कांग्रेस नेता शुक्रराज शर्माको ‘कांग्रेसमा समर्पित ५२ वर्ष’ नामक अनुभव वृतान्त पुस्तक प्रस्तुतिको अवसर जुरेको थियो । सो पुस्तकको एक समीक्षा गोष्ठीको प्रमुख अतिथि शशाङ्क कोइराला थिए । पुस्तकको भाष्यकारका नाताले मलाई पनि बोल्न भनियो । सन्दर्भ कांग्रेसको निकट आइरहेको महाधिवेशन भएकाले गण्डकी प्रदेश जिल्लाका कांग्रेस महाधिवेशन प्रतिनिधिहरूको समेत उपस्थिति थियो । त्यस समय भावी सभापतिका दाबेदारहरूको देशदौडाहा चलिरहेको थियो । बीपी लिगेसी बोकेर शशाङ्क र गिरिजा नोना लिगेसी बोकेर शेखर कोइराला कुदिरहेका थिए । रामचन्द्र पौडेलको साथ दिने बचनलाई दुवैले जित्ने (देउवा पछार्ने) आधार बताइरहेका हुन्थे । यता गणेशमान पुत्र प्रकाशमान सिंह र निधि पुत्र विमलेन्द्र पनि रामचन्द्रको साथ आफूलाई मिल्ने बताइरहेका भेटिन्थे । त्यहाँ मैले शशाङ्कलाई सम्बोधन गर्दै बोलेको थिएँ –‘शशाङ्कजी ! बनारस सारनाथमा जुन समय तपाईँलाई भिमबहादुर तामाङले औँला समाएर स्कुल लानेल्याउने गर्नुहुन्थ्यो त्यो समय म सहिद क्याप्टेन यज्ञबहादुर थापा र गोपाल राईको रेखदेखमा गंगापारिको बालुवाको थुप्रोमा बम पेस्तोल चलाउने तालिम सिकिरहेको हुन्थेँ । कालक्रममा म जेल पुगेँ, तपाईँ डाक्टर हुनुभएछ । कुन मितिदेखि पार्टी राजनीतिमा आउनुभयो ? किटान मिति भन्न सक्दिनँ । हुन त बीपी विचारका दृष्टिले भावी सभापतिका असली हकदार शुक्रराज शर्माजस्ता साथीहरू हुनुपर्दथ्यो । तर, ‘राजतन्त्र’को ठाउँलाई अक्षरंश ‘परिवारतन्त्र’ले लिएका कारण बीपीका कान्छा छोराको हकलाई आम कांग्रेसी जनले स्वीकृति र मान्यता दिएका छन् र गिरिजा–नुना लिगेसी शेखर कोइरालाको दौडभन्दा अगाडि पनि देखिएको छ । तर रामचन्द्र पौडेल (पछिल्लो चरणमा वरिष्ठ वकिल धुव्रलाल श्रेष्ठद्वारा अदालतमा किर्ते हस्ताक्षरका अभियुक्त राष्ट्रपति)को बचनको जुन जित्ने आधार बताइरहनुभएको छ, त्यो रामचन्द्रलाई तपाईँले चिन्नुभएकै छैन । लेखेर राख्नुहोस् उनले अन्त्यमा देउवालाई नै साथ दिनेछन् र तपाईँ कुनै पनि हालतमा सभापति हुन पाउनुहुने छैन । हो ! नेता बन्ने अवसर बने तपाईँका अगाडि रातो कार्पेट बिच्छाएर राजमार्ग खुला छ । त्यसका लागि तपाईँले आजकै मितिबाट यही मञ्चबाट आधिकारिक ढंगले ‘संघीयता खारेजीको लागि सत्याग्रह आन्दोलन’ आह्वान गर्नुहोस् । यदि अहिले यो आँट गर्नुभयो भने कालक्रममा नेपाली कांग्रेसको सभापति मात्र होइन, आफूले खोजेको रोजेको बीपी विचारका सच्चा अनुयायी कसैलाई पनि (शुक्रराज शर्माजस्ता आदि इत्यादि) कांग्रेस सभापति बनाएर राष्ट्रिय राजनीति र पार्टी हाँक्ने नेता बन्नुहुनेछ । भिमबहादुर तामाङले औँला समातेर डो¥याएको स्मृति ताजा भएर स्नेहवश सद्भावना जागेर यो सल्लाह दिएको हुँ । ‘महाकाली सन्धि’ राष्ट्रघात थियो भने लिपुलेख, लिम्पियाधुरा, कालापानी नेपालको भूमि भारतको नक्साभित्र गाभिएबाट प्रमाण पुगिसकेकै छ । संघीयता नेपाल भाँडेर भुटान हुँदै सिक्किम पुर्याउने डिजाइन (प्लान) अन्तर्गत लादिएको (सुभाष नेम्वाङ एमाले, कृष्ण सिटौला कांग्रेस) भन्ने अब त बादल हटेको मध्यान्हको घाम र पूर्णिमाको जूनजस्तै दशी प्रमाण छर्लङ्ग भइसकेको छ । संघीयताको वकालत गर्ने जति पनि (५०० । १०००) भिसीका दाबेदार प्राडाहरू छन्, नागरिक समाजका अगुवाहरू या मानव अधिकारकर्मी अभियान्ताहरू छन्, पत्रकार जगत नै भनौं ती सबै नेपाल र नेपाली बेचेर निजी भुँडी र भकारी भर्ने परचक्री दलाल, बिचौलिया, तस्कर : माफियाका भरिया हुन् भन्ने अब त हातहातका मोबाइलमा अडियो–भिडियो दशी प्रमाण भण्डाफोर भइसकेकै छ ।’
शशाङ्कलाई नेता बन्न सल्लाह दिएको यो विगत सात वर्षको अवधिमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पछिल्लो चरणमा भण्डाफोर गरिदिएका जस्ता काण्डहरूको विवरण कहाँ सुरु कहाँ अन्त्यकै पिरलो हुन्छ । यसमा अलिकति मैले भन्ने गरेको अध्यात्मिक साहित्यिक अभिलेख गरेर यो आलेखमा बिट मार्छु ।
अनसनकारी नन्द प्रसाईँ अधिकारीको लास दाह संस्कार हुन नसकेको १२ वर्ष नाघिसकेको छ । आफ्ना नागरिकको एउटा लास १२ वर्षसम्म सदगत गर्न नसक्ने राज्यसत्ता, व्यवस्था र प्रणालीलाई जीवित ठान्न मिल्दैन । नेपाल आमाका लागि यो त कस्तो पिरलो भयो भने तपाईँको परिवारको कुनै सदस्यको मृत्यु हुँदा त्यो लास घाटमा लान नपाएर घर आँगनमै १२ वर्षसम्म कुर्नुपर्ने सजाय पाएको जस्तो । नेपाल आमाको यो पिरलोबाट अत्यन्त दिग्दार भएर दोलखाका भीमसेन देवताको शिलाबाट पटक–पटक पसिना (आँशु) आउने गरेको त विगत दशकौँदेखि आम नेपालीले सुन्दै देख्दै आइरहनुभएकै हो । नेपाल आमाको पिरलो र भीमसेन देवताको आँशुबाट दुःखी भएर करुणा भाव जागेर भगवान् पशुपतिनाथ भोलेबाबाले नन्दप्रसाद अधिकारीको लासमाथि कुल्चेर ‘ताण्डव नृत्य’ प्रारम्भ गर्नुभएको छ । नेपालीलाई नक्कली भुटानी बनाएर बेच्नेदेखि भिजिट भिषा मानव तस्करी अन्तर्राष्ट्रिय अपराधसम्म आइपुग्दा सयकडौँ अरब खरबका घोटाला काण्डहरू हातहातका मोबाइलसम्म जुन छताछुल्ल दशी प्रमाण अभिलेख रेकर्ड भएका छन्, ती सबै पशुपतिनाथको ताण्डव नृत्यबाट छुटेका तीरहरू अस्त्रहरू हुन् । डा. शशाङ्क कोइरालाको थाप्लोमा बजारिन आइपुगेको ‘घुस्याह नेता’को चिनारी पनि ताण्डव नृत्यबाट छुटेका कुनै तीर अस्त्रकै निशाना हुनुपर्छ ।
पशुपतिनाथको तेस्रो नेत्र नखुल्दासम्म यो ताण्डव नृत्य चलिरहन्छ । तेस्रो नेत्र कहिले खुल्ला भन्ने सन्र्दभमा चाहिँ अहिले गणना चलिरहेको हुनाले उत्तर थाँती नै छ । अस्तु । चेतना भया !