काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)ले बैंकिङ क्षेत्रको सुधारका लागि उपसमितिको गठन गर्नु नेपाल राष्ट्र बैंकको ऐतिहासिक कदम भएको जनाएको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै सिफिफिनले राष्ट्र बैंकको उक्त कदमको खुलेर प्रशंसा गरेको हो ।
सिबिफिनले विज्ञप्तिमार्फत भनेको छ, नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नरज्यूको विशेष पहलमा बैंकिङ क्षेत्रका वस्तुगत समस्या एवं चुनौतीहरूको पहिचान र ठोस समाधानसहितका सुझाव पेस गर्नका लागि गठित सुझाव समितिको बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) हार्दिक स्वागत गर्दछ । नेपालको बैंकिङ इतिहासमा पहिलो पटक बैंकिङ क्षेत्रको सुधारमा केन्द्रित रहेर राष्ट्रियस्तरमा उपसमितिको गठन गर्नु ऐतिहासिक कदम भएको सिबिफिनको निष्कर्ष रहेको छ ।
सरोकारवालाहरूसँग सघन छलफल तथा संवाद गर्दै बैंकिङ क्षेत्रमा उत्पन्न समस्या एवं चुनौतीहरूको चुरोमा पुगेर वास्तविक वस्तुस्थिति बुझ्नका लागि नेपाल राष्ट्र बैंकबाट भइरहेको स्थलगत भ्रमण तथा अध्ययन, व्यवस्थापन÷सुपरीवेक्षणलाई प्रभावकारी बनाउने र विगतका नीतिहरूको समीक्षा गर्ने, हालै जारी वित्त नीतिको मर्म, वर्तमान आवश्यकता एवं अपेक्षाका आधारमा समयसापेक्ष मौद्रिक नीति ल्याई अर्थतन्त्र र वित्तीय क्षेत्रका समस्याहरूको निदान गर्नेगरी गभर्नरबाट व्यक्त भएका दुरगामी अभिव्यक्ति तथा सोअनुसार चालिएका सुधारमुखी पहलहरूले मुलुक अब आर्थिक एवं बैंकिङ क्षेत्रको सुधार तथा दिगो विकासको युगमा प्रवेश गरेको छ भन्ने सिबिफिनले विश्वास लिएको छ ।
आर्थिक एवं बैंकिङ क्षेत्रमा गहिरो अध्ययन तथा फराकिलो ज्ञान तथा अनुभव हासिल गरेको, केन्द्रीय बैंकभन्दा बाहिरका र निजी क्षेत्रको समेत अनुभव प्राप्त प्रतिष्ठित विषयविज्ञहरू समेत सम्मिलित उक्त सुझाव उपसमितिले अर्थतन्त्र र बैंकिङ क्षेत्रमा विकसित पछिल्ला घटनाक्रम, वस्तुनिष्ठ अवस्था, समस्या एवं चुनौतीसहित वित्तीय प्रणालीका वास्तविक पीडाबिन्दुका बारेमा सरोकारवालाहरूसँंगको छलफलबाट पहिचान गरी ठोस सुझाव दिने, नियामकीय सुधार, प्रणालीगत परिवर्तनका लागि आधार तय गर्ने र नीति निर्माणका लागि मार्गदर्शन हुनेमा सिबिफिन पूर्ण विश्वस्त रहेको छ, विज्ञप्तिमा भनिएको छ ।
उपसमितिले गर्ने हरेक अध्ययन, अनुसन्धान, छलफल तथा संवादका प्रक्रियाहरूमा सामेल भई खोजमूलक अध्ययनको आधारमा तर्कपूर्ण सुझावहरूको साथमा उपसमितिसमक्ष आवश्यक समन्वय, सहजीकरण र सहयोग गर्न तथा अभिभावकीय संस्था – नेपाल राष्ट्र बैंकले लिएका र लिने दुरगामी योजना तथा नीतिहरूको कार्यान्वयनमा अभिन्न सहयोगीको भूमिका निर्वाह गर्न सिबिफिन सदैव तत्पर रहने पनि विज्ञप्तिमा उल्लेख छ ।