काठमाडौं । मोरङ अटोमोबाइल्स डिलर्स एसोसिएसनले विद्युतीय गाडीहरूमा कर छुट गर्न माग गरेको छ । आर्थिक गतिविधिहरूमा अटोमोबाइल क्षेत्रले ठूलो योगदान पुर्याइरहेको हुँदा यस क्षेत्रलाई अझ विस्तार गर्नका लागि विद्युतीय गाडीहरूमा कर छुट, चाजिँङ्ग स्टेशनको विस्तार, निजी क्षेत्रलाई उपलब्ध गराउने चार्जिङ स्टेसनका लागि पर्याप्त विद्युत् र सोसम्बन्धी न्यूनतम शुल्क कायम गर्न माग गरेको हो ।
एसोसिएसनको शनिबार भएको १६औँ वार्षिक साधारणसभामा एसोसिएसनका अध्यक्ष सञ्जयकुमार श्रेष्ठले नेपालमै विभिन्न ब्रान्डका गाडी एसेम्बल गर्नका लागि ल्याइने नीति तथा नियमलाई व्यवसायमैत्री बनाउन सरकारसँग आग्रह गरे । त्यसैगरी उनले भन्सार कार्यालयमा साना तथा मझौला व्यवसायीहरूलाई सन्दर्भमूल्य पुस्तिका र साफ्टाअन्तर्गत आयात गरिने वस्तुमा साफ्टा सुविधा प्राप्त गर्न केही बाधा भइरहेकाले यसलाई जति सक्दो सहज र सरल बनाउन माग गरे ।
कार्यक्रममा उनले अटोमोबाइल क्षेत्रका मागलाई नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेटले धेरै सम्बोधन गरेको भए पनि पर्याप्त नभएको बताए । बजेटले केही वस्तुगत व्यवसायहरूजस्तै स्पन्ज आइरन, सुनचाँदी व्यवसायीमा भएको बिलासिता कर, कवाडी व्यवसायीका स्क्रयाप सिसामा निर्यात करलगायत विभिन्न क्षेत्रबाट आएका नीतिगत त्रुटिहरूलाई सम्बोधन गर्नका उनले आग्रह गरे । यसैगरी नेपाल राष्ट्र बैंकद्वारा आगामी दिनमा जारी हुने मौद्रिक नीतिबाट समेत अटोमोबाइल क्षेत्रलाई सकारात्मकरूपमा हेरी यसै अनुरूप नीति आउने अपेक्षा गरेको बताए ।
त्यसैगरी, उनले हाल सरकारले प्रत्येक सामानमा एमआरपी स्टिकर लगाउन अनिवार्य कार्यान्वयन गरेको हुँदा उक्त झन्झटिलो प्रक्रियाले व्यवसायीलाई झन् मारमा पर्ने हुँदा सोसम्बन्धी कार्यान्वयनलाई पुनः विचार गर्न सुझाव दिए । साथै, कर, भन्सार तथा (भीसीटीएस) सम्बन्धित विषयमा जानेर वा नजानेर कतिपय व्यवसायीहरूले करमा देखिने समस्या, भन्सार क्षेत्रको विद्यमान व्यवस्था र व्यवसायीहरूले भन्सारमा अपनाउनुपर्ने विषय वस्तुमा सम्बन्धित निकायसँग समन्वय गरी त्यस विषयमा उठेका समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिए ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नाडाका महासचिव सुरेन्द्र कुमार उप्रेती, सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख भूपालराज शाक्य, एफएनसीसीआईका केन्द्रीय सदस्य तथा मोरङ उद्योग व्यापार संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीलगायतको उपस्थिति थियो ।
उक्त वार्षिक साधारणसभामा एसोसिएसनका संस्थापक एवं इस्टर्न अटो डिस्ट्रिव्युटरर्स प्रालिका सञ्चालक प्रेम खड्का, पवित्र अटोपार्टस् ट्रेर्डका सञ्चालक महेश भट्टराई, ट्राफिक प्रहरीद्वय ट्राफिक प्रहरी हवल्दार राम कुमार साह र ट्राफिक प्रहरी जवान कमला कार्की, सिप्रदी ट्रेडिङका सञ्चालक सुरेन्द्र कुमार उप्रेती, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरेलाई आन्तरिक मामिलामन्त्री रेवतीरमण भण्डारी र एसोसिएसनका अध्यक्ष श्रेष्ठले सम्मान गरेका थिए ।