काठमाडौं । पैँचो पसल प्रालिले तीन दिवसीय नेसलन सेल्स समिट सम्पन्न गरेको छ । ‘बसे पनि सहर गाउँकै खाने रहर’ नाराका साथ सुरु भएको समिटले कृषिजन्य उत्पादनलाई स्वदेशी तथा विदेशी बजारमा व्यापार प्रवर्द्धन गर्ने रणनीति बनाएको हो ।
ग्रामीण उत्पादनलाई सहरसम्म पुर्याइरहेको पैंचोले नेपाली टिपिकल स्वादलाई सहरसम्म पुर्याएर बिक्री वितरण गरिरहेको जनाएको छ । पैँचो पसलका प्रबन्ध निर्देशक धुव्र न्यौपानेले देशमा केही छैन भनेर विदेश पलायन भइरहेको नेपाली समाजलाई रोक्नका लागि अब कृषिमा काम गर्नुपर्नेमा जोड दिए । ‘नेपालमा कृषि क्षेत्रमा सम्भावना छ । नेपाली उत्पादन अन्य देशका उत्पादनसँग प्रतिस्पर्धा गर्न सक्षम छन् भन्ने पैँचोका उत्पादनले देखाएको छ । नेपाली वस्तुको प्रयोग गर्नेको संख्या निरन्तर बढ्दा नेपाली कम्पनीको उत्पादन क्षमता विस्तार र रोजगारी बढ्छ । देशमा उत्पादनको खपत बढ्नु राष्ट्रकै लागि ठूलो अवसर हो’, उनले भने ‘नेपाली उत्पादनको व्यापार स्वदेशमा मात्र नभएर विदेशमा समेत माग उच्च छ । नेपाली उत्पादनले विदेशी उत्पादनलाई रोक्ने काम गरेको भन्दै नेपाली उत्पादनको बजार हिस्सा बढ्नु अवसर हो ।’
यस्तै, पैँचो पसलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशव न्यौपानेले पैँचोसँग एक लाखभन्दा बढी किसान जोडिएर काम गरिरहेको बताए । उनले भने ‘नेपाली किसानलाई व्यवसायी खेती गर्न पैँचोले प्रोत्साहन गरिरहेको छ । किसानको खेतीबारीदेखि बजारसम्म आएको ग्रामीण उत्पादन बजारको रोजाइमा पर्नुले नेपाली कृषिउपजबाट बनेका उत्पादनको माग आगामी दिनमा अझै बढ्छ ।’ उनले बजारको रोजाइमा पैँचोको उत्पादन बढ्दा सेल्स प्रतिनिधिले विदेशमा भन्दा नेपालमैै राम्रो आम्दानी गर्ने वातावरण बन्दै गएको बताए ।
कम्पनीको प्रमुख बजार व्यवस्थापक लक्ष्मण गैरेले पैँचोको उत्पादनहरू बजारमा निरन्तर आफ्नो बजार विस्तार गर्न सफल भएको बताए । कर्मचारीले नेतृत्व र दायित्वमा ध्यान दिने हो भने नेपाली ब्रान्ड स्थापित हुन धेरै समय नलाग्ने पैँचोले देखाएको बताए । समिटमा आगामी आर्थिक वर्ष पैँचोसँग जोडिएका किसानहरूको कृषिजन्य उत्पादन बढ्ने हुनाले पैँचोको उत्पादन बजारमा राम्रो उपस्थिति रहने भन्दै व्यापार बिस्तार गर्ने रणनीतिमा लाग्नुपर्नेमा उनले जोड दिए । समिटमा चालु आर्थिक वर्षको समीक्षा र आगामी आर्थिक वर्षको रणनीतिको विषयमा देशभरमा बजार प्रतिनिधिले छलफल गरेका थिए । कार्यक्रममा पैँँचो टिमले अहिलेसम्म गरेको काम उत्साहजनक भएको भन्दै आफ्नो भूमिका र उत्तरदायित्वलाई अझै दत्त चित्त भएर काम गर्ने हो पैँचोका उत्पादन ग्राहकको पहिलो रोजाइमा पर्ने निष्कर्ष निकालिएको छ ।
पैँचोले ग्रामीण कृषकले उत्पादन गर्ने कृषिउपजबाट केचप, जाम, विभिन्न प्रकारको अचार, चुक तथा छोप, आँटो, कोदोको पिठो, सिन्की, महलगायत ७० भन्दा बढी प्रकारका सामान उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आएको छ । कार्यक्रममा पैँचोका नेसनल सेल्स हेड, उत्पादन विभाग प्रमुख, कलसेन्टर, ब्रान्डिङ विभाग, सेल्स सुपरभाजर, डिलर सर्पाेटरलगायत सयभन्दा बढीको सहभागिता थियो ।