जेरुसेलम । इजरायलले इरानको राजधानी तेहरान जलाइदिने चेतावनी दिएको छ । इजरायलका रक्षामन्त्री इजरायल काट्जले शनिबार इरानी सर्वोच्च नेता अयातोल्लाह खामेनीले थप क्षेप्यास्त्र प्रहार गरे तेहरान जलाइदिने चेतावनी दिएका छन् । शुक्रबार बिहान इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले पनि जवाफी आक्रमण गरेको थियो ।
इजरायल र इरानबीचको भिडन्तको दोस्रो दिनसम्म इरानमा एक सय ३८ जनाको मृत्यु भएको छ । इजरायलले शुक्रबार राति इरानको आणविक प्रतिष्ठानमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । त्यस क्रममा ६० जनाको मृत्यु भएको र तीन सय ५० भन्दा बढी घाइते भएको सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।
त्यसअघि शुक्रबार बिहान इजरायलले इरानका विभिन्न छ ठाउँमा गरेको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । सो आक्रमणबाट नौ जना आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी कमान्डरहरुको मृत्यु भइसकेको बताइएको छ ।
इरानले इजरायलमा एक सय ५० भन्दा बढी क्षेप्यास्त्रबाट जवाफी प्रहार गरेको छ । जसमध्ये छवटा क्षेप्यास्त्र तेल अभिभमा खसेका थिए । इरानको आक्रमणबाट इजरायलमा अहिलेसम्म तीन जनाको मृत्यु भएको इजरायली सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । यस्तै सात सैनिकसहित ९० भन्दा बढी घाइते भएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सुरक्षित स्थानमा सारिएको छ । इरानले मिसाइल इजरायली रक्षा मन्त्रालयमा पनि खसेको दाबी गरेको छ । यद्यपि, इजरायलले अहिलेसम्म यसको पुष्टि गरेको छैन । इरानले भने तेस्रो पटक इजरायलको एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ ।