काठमाडौँ । आरभी ग्रुपले शक्तिको आडमा आफूमाथि आन्तरिक राजस्व विभागले गरिरहेको अनुसन्धानलाई प्रभावित पारेको छ । राज्यसत्तामाथि सिधै पहुँच राख्न सक्ने यस ग्रुपले नक्कली बिल किनेर कारोबार गर्दै आएको समाचार सार्वजनिक हुँदा आन्तरिक राजस्व विभाग पुतलीसडकले भने यस कम्पनीमाथि भइरहेको आफ्नो अनुसन्धानलाई प्रभावमा पारेर ढिलासुस्ती गर्दै आएको छ ।
आरभी ग्रुपअन्तर्गत रहेको युरेसियन इन्फ्रा प्रालि नामक कम्पनीले झापामा रहेको अर्नभ इन्टरप्राइजेजसँग मिलेर बिल खरिद गरेको विषयमा समाचारहरू सार्वजनिक भइरहँदा समेत आन्तरिक राजस्व विभागले अनुसन्धान नगर्नु अर्थपूर्ण रहेको छ ।
आरभी ग्रुपले ‘युरेसियन इन्फ्रा’, ‘टाइम्स डेभलपर्स’, ‘आरभी इन्भेस्टमेन्ट’ र ‘माउन्टेन भ्यु (कार्यविनायक होम्स)’जस्ता कम्पनीहरू खडा गरी नक्कली कारोबार गरेको तथा उच्च खरिद गरेको देखाएर कर छली गर्ने गरेको आन्तरिक राजस्व विभागको अनुसन्धानमा खुलेको छ ।
निश्चित मित्तल सञ्चालक रहेको आरभी ग्रुपले गर्ने कारोबारको विषयमा सर्वत्र चर्चा हुँदा समेत नक्कली बिल दिने अर्नभ इन्टरप्राइजेजलाई समेत अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा मित्तलको सिधा पहुँचको भरमा उन्मुक्ति पाउँदै आएको छ ।
नक्कली बिल बनाई बेचेको आरोप लागेका अर्नभ ग्रुपका सुदिस जैसवालसँग नक्कली बिल बेचेको विषयमा प्रश्न गर्दा अर्नभ ग्रुपका जैसवालले आफूलाई यो विषयमा थाहा नभएको र बिल समेत दिने नगरेको बताए ।
काठमाडौं उपत्यकामा महँगा भवन तथा तारे होटल निर्माण तथा सजावटको काम गर्दै आएको आरभी ग्रुपले नक्कली बिलको कारोबार गरी कर छली गरेको विषयमा समाचारहरू प्रकाशित भइरहँदा समेत कारबाही नहुनुमा राज्यसत्ताको दुरुपयोग भएको आशंका गर्न थालिएको छ ।
ग्रुपले कर छली गरेको रकम अवैध रूपमा भारत पठाएर आफन्तमार्फत आरभी इन्फ्राटेक एन्ड स्टक्चर्स कम्पनीमा लगानी गर्ने गरेको संकेत पाइएको स्रोतले बताएको छ । स्रोतका अनुसार युरेसियन इन्फ्रा कम्पनीले खरिद नै नगरेका सामग्रीको बिलविजक तयार गरी त्यसका आधारमा भुक्तानी गरेको बनाउने र सो रकम हुण्डीमार्फत भारत पठाउने गरिएको हो ।
नक्कली बिलको भुक्तानी गरेर कर छली गरेको विषयमा प्रशस्त आधार र प्रमाणहरू सार्वजनिक भइरहँदा समेत आन्तरिक राजस्व कार्यालय भने रमिते बनिरहेको पाइएको छ ।
आरभी ग्रुपको फुल अडिट गरिरहेको आन्तरिक राजस्व कार्यालय पुतलीसडकका कर अधिकृत नरेन्द्र प्रकाश पाण्डेयले कम्पनीको फुल अडिट चलिरहेको र थप अध्ययन भइरहेको बताए । उनका अनुसार कम्पनीले दोहोरो बिल प्रयोग गरेर कर छली गरेको पाइएमा सम्पत्ति शुद्धीकरणमा समेत जान सक्ने छ ।