दोलखा । जिल्लाको गौरीशंकर गाउँपालिकामा पछिल्ला दिनहरूमा भालु आतंक बढ्दै गएको छ । एक साताको अवधिमा दुई जना स्थानीयलाई भालुले आक्रमण गरेर घाइते बनाएको छ ।
गाउँपालिकाको वडा नम्बर १ जुँगुमा गत साता पनि भालुले आक्रमण गर्दा एक स्थानीय पुरुष गम्भीर घाइते भएका थिए । त्यसको एक सातापछि पुनः अर्का स्थानीय पनि भालुको आक्रमणबाट घाइते भएका छन् । भालुको आक्रमणबाट स्थानीय ४६ वर्षीय चेतबहादुर कार्की घाइते भएको वैतेश्वर अस्पतालका डा.समिर लामाले बताए । घर नजिकैको जंगलमा घास काट्ने क्रममा कार्कीलाई भालुले आक्रमण गरेपछि उपचारको लागि वैतेश्वर अस्पताल ल्याइएको थियो । स्थानीय बागेनाश सामुदायिक वनमा घाँस काट्न गएको समयमा भालुले आक्रमण गरेको कार्कीले बताए । उनको खुट्टा अनुहारमा भालुले चिथारेको डा.लामाले बताए । उनको अहिले उपचार भइरहेको छ ।
दुई साताको अवधिमा दुई जनालाई भालुले आक्रमण गरेपछि वडाअध्यक्ष दिपक खड्काले नियन्त्रणको उपाय खोजिरहेको बताए । उनले भने, ‘गत वर्ष पनि जंगली जनावर भालुको आतंक र त्रास थियो । पहिला मानिसलाई आक्रमण नगरे पनि बालीनाली सखाप पार्ने गथ्र्यो । तर यस वर्ष मानिसमै आक्रमण गर्न थालेको छ ।’ गाउँपालिका र जिल्ला प्रशासनलाई जानकारी गराएर कसरी नियन्त्रण गर्ने सन्दर्भमा छलफल भइरहेको वडाअध्यक्ष खड्काले बताए । वडाले पालिका, प्रशासन तथा डिभिजन वन कार्यालयमा निवेदन दिने तयारी गरेको बताए ।
वडाले मात्रै नियन्त्रण गर्न नमिल्ने भएकाले सबै निकायमा सिफारिस गरेर केही समयभित्र बढ्दो भालु आतंक रोक्ने बताए । अहिले गौरीशंकर गाउँपालिका वडा नम्बर–१ को हुप्पा, चेत्पु, खड्का टोल, राजपुरटोललगायतका बस्तीमा भालुको आतंक र त्रास रहेको वडाध्यक्ष खड्काले बताए । विशेषगरी विद्यार्थी र घाँस दाउराको लागि वनजंगल जाने स्थानीयहरू भालु आतंकको त्रासमा रहेका छन् । यता कतिपय स्थानीयले भने भालु आतंक सुरु भएको हप्ता दिन बित्दा समेत स्थानीय प्रशासन तथा जनप्रतिनिधिले नियन्त्रणको लागि कुनै चासो नदेखाएको बताएका छन् ।