काठमाडौँ । गोल्छा ग्रुपद्वारा प्रस्तुत ग्लोकल टिन हिरो नेपाल २०२५ को ११ औं संस्करणका लागि आवेदन खुला गरिएको छ । यो प्रतिष्ठित कार्यक्रमले नेपालका किशोरकिशोरीहरूलाई उनीहरूको असाधारण योगदान र नेतृत्वका लागि सम्मान गर्ने लक्ष्य राखेको छ ।
ग्लोकल टिन हिरो नेपाल २०२५ का लागि देशभरका १३ देखि १९ वर्ष उमेर समूहका सबै उत्साही, लगनशील, दूरदर्शी र परिवर्तनकारी भावना बोकेका किशोरकिशोरीहरूले आवेदन दिन सक्नेछन् । यस वर्ष ग्लोकल टिन हिरोले नेपालभरका ६० भन्दा माथिका शहरहरूमा पुग्ने र किशोरकिशोरीहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने योजना बनाएको छ । यो पूर्णतःनिशुल्क कार्यक्रम हो, जहाँ नेपालका १३ देखि १९ वर्ष उमेर समूहका किशोरकिशोरीहरूले अनलाइन आवेदन दिन सक्नेछन ्। साथै, आफ्नो समुदायका परिवर्तनशील किशोरकिशोरीहरूलाई मनोनयन गर्ने सुविधा पनि उपलब्ध छ । आवेदन सोमबारदेखि खुला गरिएको छ । आवेदन जुलाई ३० सम्म दिन सकिनेछ ।
ग्लोकल टिन हिरो, ग्लोकल प्रालिको एक महत्वपूर्ण पहल हो । यस कार्यक्रमले किशोरकिशोरीहरूलाई उनीहरूको प्रतिभा, सिर्जनशीलता र सामाजिक कार्यहरू प्रस्तुत गर्ने अद्वितीय अवसर प्रदान गर्नेछ । यसले शैक्षिक गतिविधि र व्यक्तिगत सीमा रेखाभन्दा बाहिर रहेर आफ्नो समुदायमा सकारात्मक प्रभाव पार्ने सक्रिय युवाहरूलाई विशेष रूपमा चिनाउँछ । ग्लोकल टिन हिरोको सुरुवात सन् २०१५ मा काठमाडौं उपत्यकाका प्रतिभावान किशोरकिशोरीहरूलाई सम्मान गर्ने उद्देश्यले भएको थियो ।