काठमाडौँ । विद्युतीय सवारी साधन निर्माता सेरेसले सन् २०२५ को अप्रिल महिनामा वार्षिक आधारमा पहिलोपटक न्यु इनर्जी भेहिकल (एनईभी) बिक्री वृद्धिको उल्लेखनीय उपलब्धि हासिल गरेको छ ।
कम्पनीले उक्त महिना ३१ हजार चार सय ८८ वटा ईभी बिक्री गरेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ दशमलव ९९ प्रतिशतले बढी हो । यसले चुनौतीपूर्ण प्रथम त्रैमासिकपश्चात् मजबुत पुनरागमनको संकेत गरेको कम्पनीको दाबी छ । कम्पनीले हुवावेसँगको सहकार्यमार्फत चीनको ईभी बजारमा बलियो उपस्थिति बनाएको छ । यसको प्रमुख मोडल एम ९ मा अत्याधुनिक इन्टेलिजेन्ट ड्राइभिङ प्रविधि समावेश गरिएको छ । यो मोडलले पहिले बीएमडब्लु, मर्सिडिज–बेन्ज आदिजस्ता लक्जरी इन्धन गाडीहरू चढेकाहरूलाई आकर्षित गरेको छ । एम९ ले पाँच लाख युआन (लगभग ६९ हजार ४३५ अमेरिकी डलर) मूल्यको लक्जरी भेहिकल श्रेणीमा लगातार ११ महिनासम्म चीनको सेल्स चार्टमा अग्रस्थान कायम राखेको छ ।
सन् २०२५ को पहिलो त्रैमासिकमा बिक्रीमा आएको कमीलाई विश्लेषकहरूले नयाँ मोडेलमा रूपान्तरण भइरहेको ट्रान्जिसनसँग जोडेर हेरेका थिए । मार्चमा अपडेट गरिएको एम९ को सार्वजनिक वितरण र अप्रिलमा एम८ को सुरुवातसँगै उपभोक्ताको चासो पुनःजागृत भएको छ । अब फेरि बिक्री वृद्धिको सम्भावना बलियो बनेको छ । बिक्रीको तथ्याङ्कअनुसार जनवरीमा बिक्री १२ हजार चार सय ८३ युनिट थियो, जुन मार्चमा घटेर पाँच हजार दुई सय ३६ मा झर्यो । तर एम९ को २०२५ संस्करणको पहिलोपूर्ण वितरण महिना अप्रिलमा यो पुनः बढेर १३ हजार एक सय ४९ युनिट पुगेको छ ।
अप्रिल १६ मा सार्वजनिक गरिएको एम८, एम७ र एम९ को बीचको मोडल हो । यसको मूल्य तीन लाख ५९ हजार आठ सय युआनदेखि चार लाख ४९ हजार आठ सय युआनसम्म तोकिएको छ । सेरेसको सन् २०२४ को वार्षिक प्रतिवेदनअनुसार कम्पनीले २०२४ मा चार लाख २६ हजार आठ सय ८५ वटा ईभी बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा एक सय ८२ दशमलव ८४प्रतिशतले बढी हो । तर सन् २०२५ को पहिलो चार महिनाको ट्रेन्डलाई हेर्दा गत वर्षको बिक्रीस्तर कायम राख्नु चुनौतीपूर्ण देखिन्छ । हालसम्म सेरेसले एम८ को विस्तृत डेलिभरी डाटा सार्वजनिक गरेको छैन, जसले गर्दा यसको वार्षिक प्रदर्शनमा कति प्रभाव पर्छ भन्ने मूल्याड्ढन गर्न कठिन छ । यद्यपि प्रि–अर्डर तथ्याङ्कहरूले उच्च माग देखाए पनि वास्तविक वितरण भने उत्पादन क्षमताको सीमा, स्टक व्यवस्थापन र अर्डर रद्द हुनेजस्ता कारणहरूले फरक पर्न सक्छ ।
सेरेसको अप्रिलमा भएको सेल्स रिबाउन्ड चीनको सम्पूर्ण ईभी बजारले फेरि मोमेन्टम पाएको संकेत पनि हो । चाइना एसोसिएसन अफ अटोमोबाइल म्यानुफ्याक्चरर्सका अनुसार सन् २०२५को अप्रिलमा चीनमा कुल एक दशमलव दुई सय २६ मिलियन ईभी बिक्री भएका थिए, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४४ दशमलव दुई प्रतिशतले बढी हो । सो महिनामा चीनमा बिक्री भएका कुल दुई दशमलव ५९ मिलियन सवारी साधनहरूमध्ये ४७ दशमलव तीन प्रतिशत ईभीहरू थिए ।