नयाँदिल्ली । इरानको सरकारी टेलिभिजनले सोमबार इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) को भवनमा आक्रमण गरेको छ । आईआरआईबीले आफ्नो केन्द्रीय कार्यालयमा आक्रमण भएको केही समयपछि नै पुनः प्रत्यक्ष प्रसारणमार्फत सेवा सुरू गरेको छ ।
सरकारी स्वामित्वको प्रसारण सेवा आईआरआईबीका एक वरिष्ठ अधिकारीले भने, ‘इरानी राष्ट्रको शत्रु यहुदी शासनले केही मिनेटअघि इस्लामिक रिपब्लिक अफ इरान न्यूज नेटवर्कविरुद्ध सैन्य आक्रमण गरेको छ ।’
प्रत्यक्ष प्रशारणबाट उनले भने, ‘इस्लामी क्रान्ति र महान् इरानको आवाजलाई सैन्य कारबाहीबाट दबाउन सकिँदैन भन्ने तथ्यबारे इजरायल अनभिज्ञ देखियो ।’ यसअघि, इजरायलका रक्षामन्त्री इजरायल काट्जले इरानको सरकारी टेलिभिजन र रेडियोलाई लक्षित आक्रमण गरी ‘तिनीहरूलाई ध्वस्त पारिदिने’ बताएका थिए ।
‘इरानी प्रोपोगान्डा र उक्साउने ‘मेगाफोन’ ध्वस्त हुन लागेको छ’, उनले एक विज्ञप्ति जारी गरी बताएका थिए । उनले आसपासका बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण हुन उर्दी जारी गरेका थिए ।
त्यसैगरी इजरायली सेनाले पनि सोमबार नै राजधानीको उत्तरी ‘डिस्ट्रिक्ट थ्री’को एक भागका बासिन्दालाई ‘तत्काल’ त्यहाँबाट बाहिर निस्कन आग्रह गरेको थियो ।
खाली गर्न भनिएको क्षेत्र इरानी राजधानीको एक घना क्षेत्र हो । त्यहाँ कम्तीमा चारवटा अस्पताल र स्वास्थ्य केन्द्र, एक प्रमुख पुलिस भवन र सरकारी प्रसारणकर्ता आईआरआईबी रहेका छन् ।
यसमा कतार, ओमान र कुवेतका दूतावासका साथै संयुक्त राष्ट्रसंघका कार्यालय र एजेन्सी फ्रान्स–प्रेस ब्यूरो (एएफपी)को कार्यालय पनि छ । सोमबार इजरायली सेनाले तेहरानमाथिको आकाशमा पूर्णरूपमा हवाई नियन्त्रण हाँसिल गरेको बताएको थियो ।