चितवन । प्रेस सेन्टर चितवनले मंगलबार दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् ।
उनले २०६४ सालदेखि भिजिट भिसा समस्या भएको बताउँदै यो मुद्दालाई त्यत्तिकै नछाड्ने बताएका छन् । यस विषयमा छानबिन र नीतिगत सुधार गर्नुपर्ने उनको भनाइ छ । यसका लागि जरुरी परे संविधान संशोधन, ऐन निर्माण र नीतिगत निर्णय गर्नु परे पनि गरिने उनको धारणा छ । आफूहरु प्रतिपक्षमा भए पनि सत्ता पक्षको जस्तो भूमिका निर्वाह गर्दै आएको प्रचण्डले बताए ।
अध्यक्ष प्रचण्डले सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने, बजेट पारित गर्नुपर्ने, शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्नुपर्ने लगायतका जिम्मेवारीबोधका साथ ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा संसद्को अवरोध खुलाउन सहमति गरिएको स्पष्ट पारे ।