तेल अभिभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार तेहरानका बासिन्दाहरूलाई त्यहाँबाट निस्कन चेतावनी दिएका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि उनका चेतावनीहरूलाई समर्थन गर्दै ट्रम्पले पनि चेतावनी दिएका हुन् ।
‘सबैले तुरुन्त तेहरान छोड्नुपर्छ !’ ट्रम्पले क्यानाडामा भएको जी–७ को शिखर सम्मेलनका क्रममा आफ्नो ट्रुथ सोसल खातामा लेखेका छन् । ट्रम्पले विस्तृत विवरण भने दिएका छैनन् । इरानी राजधानीमा लगभग एक करोड मानिस बस्छन् ।
इजरायलले इरानमा आक्रमणहरू बढाएको बेला यो चेतावनी आएको छ । इजरायलले धर्मगुरुद्वारा सञ्चालित इरानको विवादित आणविक कार्यलाई नष्ट गर्ने लक्ष्य राखेको बताएको छ ।
इजरायली सेनाले यसअघि तेहरानको एउटा जिल्लाका बासिन्दाहरूलाई खाली गर्न आग्रह गर्दै सूचना जारी गरेको थियो । यो गाजामा यसको रणनीतिको प्रतिध्वनि हो । इजरायलले गाजामा सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि अधिकांश प्यालेस्टिनी जनसंख्यालाई विस्थापित गरेको छ ।
संयुक्त राज्य अमेरिकाले इजरायली सैन्य कारबाहीमा भाग लिने छ कि छैन भनेर भन्न ट्रम्पले बारम्बार अस्वीकार गरेका छन् । यद्यपि उनले अमेरिका प्रारम्भिक आक्रमणमा संलग्न नभएको बताए ।
यसअघि मंगलबार समाप्त हुने जी–७ शिखर सम्मेलनमा उनले पत्रकारहरूलाई भनेका थिए, ‘म यहाँबाट निस्किएपछि, हामी केही गर्न जाँदैछौँ । तर मैले यहाँबाट जानुपर्छ ।’
इजरायलको मोसाद मुख्यालयमा इरानको आक्रमण
इजरायल र इरानबीचको युद्ध अहिले पनि जारी छ । इरानले मंगलबार तेल अभिभमा रहेको इजरायलको गप्तचर एजेन्सी मोसादको मुख्यालयमा हवाई आक्रमण गरेको छ । यसबाहेक सैन्य गुप्तचरसँग सम्बन्धित गुप्तचर एजेन्सी एएमएएनको भवनलाई पनि निशाना बनाएको छ ।
इजरायली हवाई आक्रमणमा इरानका उपकमाण्डर मेजर जनरल अली शादमानीको मृत्यु भएको छ। शादमान इरानको खातम–अल–अन्बिया मुख्यालय अर्थात् सैन्य आपतकालीन कमाण्डका प्रमुख थिए । उनले चार दिनअघि मात्र यो पद सम्हालेका थिए ।
अली शादमानीले जुन १३ मा इजरायली आक्रमणमा मारिएका मेजर जनरल गुलाम अली रशिदको स्थान लिएका थिए । खातम अल–अन्बिया मुख्यालय इरानको मुख्य सैन्य कमान्ड एकाइ हो । यसले युद्धको समयमा देशको सैन्य रणनीति र हवाई रक्षाको निरीक्षण गर्दछ । पछिल्ला पाँच दिनमा इजरायली आक्रमणमा २२४ इरानी मारिएका छन् भने एक हजार चाार सय ८१ जना घाइते भएका छन् । यसैबीच, इजरायलमा हालसम्म २४ जनाको मृत्यु भइसकेको छ भने छ सयभन्दा बढी घाइते भएका छन् ।