काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुटसहितको पुनर्जागरण अभियान सुरु गरेको छ । कम्पनीका अनुसार विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार यो पुनर्जागरण अभियान आसर २ गतेदेखि २७ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बीमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुविधा प्रदान गरिने संस्थाले जनाएको छ । सामान्य अवस्थामा बीमालेख व्यतीत रहँदा बीमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । कम्पनीले सार्वजनिक गरेको पुनर्जागरण अभियानमा भने विलम्ब शुल्कमा छुटको सेवा–सुविधा लिई व्यतीत बीमालेख नवीकरण गरी मौकाको फाइदा लिन कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बीमाको दायराभित्र ल्याई बीमित र बीमितसँग आश्रितको आर्थिक पक्ष सबल र सदृढ गर्नको लागि जीवन बीमा अनिवार्य रहेको छ । ग्राहकहरूले देशैभरि रहेका एक सय ६९ वटा शाखा कार्यालय वा अनलाइन भुक्तानीको माध्यमहरूबाट यो योजनामा सहभागी हुनसक्ने कम्पनीले जानकारी दिएको छ ।