खोटाङ । खोटेहाङ गाउँपालिकामा भौतिक पूर्वाधार विकास योजनाको काम ९० प्रतिशत सम्पन्न भएको पाइएको छ । आर्थिक वर्ष २०८१÷८२ का लागि सडक, पुल, सिँचाइ योजना, विद्यालय भवन, सभाहल, कभर्डहल, चिस्यान केन्द्र, खेलमैदान निर्माणलगायतका शीर्षकमा भौतिक पूर्वाधार विकास योजना बनाएर गाउँपालिकाले बजेट विनियोजन गरेको थियो ।
वडा नं ९ रहेको खोटेहाङमा चालू आर्थिक वर्षका लागि विभिन्न शीर्षकका ११ भौतिक पूर्वाधार विकास योजना निर्माण गरिएको थियो । चालू आर्थिक वर्षका लागि निर्माण गरिएको भौतिक पूर्वाधार विकास योजनामा विनियोजन गरिएको १२ करोड ५४ लाख ८८ हजार रुपैयाँमध्ये नौ करोड ६० लाख ११ हजार रुपैयाँ खर्च भएको पाइएको हो । कुल बजेट ५८ करोड २८ लाख ७३ हजारमा आधारित रहेर निर्माण गरिएको योजनामा चालूतर्फ ६३ दशमलव ५३ प्रतिशत तथा पुँजीगततर्फ ४९ दशमलव ६१ प्रतिशत खर्च भएको छ ।
सङ्घ तथा प्रदेश सरकारसँगको सहकार्यमा निर्माण गरिएका अधिकांश योजनाको भौतिक प्रगति भइसकेको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिए । ‘सीमित स्रोत र साधनबीच काम गरिरहेका छौँ । यो आर्थिक वर्षका लागि निर्माण गरिएका अधिकांश योजना सम्पन्न भइसकेका छन्’, उनले भने, ‘बहुवर्षे योजनाको हकमा पुनःआर्थिक वर्ष २०८२÷८३ मा बजेट विनियोजना गरेर अगाडि बढाउँछौँ । हामीले निर्माण गरेका योजना तथा कार्यक्रममा गुणस्तर निर्धारण, दीगोपना तथा पारदर्शितालाई मध्यनजर गरेर काम गरिरहेका छौँ ।’
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले बिहीबार वार्षिक सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेर आफ्नो गतिविधिका बारेमा जानकारी दिएको थियो । गाउँपालिकास्तरीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सरोकारवाला निकाय, पत्रकारलगायतको उपस्थितिमा किराँत कोशी सञ्चार प्रालिको सहजीकरणमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको हो ।