काठमाडौं । नेपाली लेखनमा साहित्यिक एवं साहित्येत्तर सिर्जनाका लागि आफ्नो अलग स्थान बनाउन सफल ई. गणेशराज वस्तीको तेह्रौँ कृति ‘सूक्तिसङ्ग्रह’ हालै प्रकाशनमा आएको छ । ‘सूक्ति’को शाब्दिक अर्थ हुन्छ– सारपूर्ण वा उद्धरणीय कथन, महावाणी, मीठो वा मधुर बोली ! यसबाटै अनुमान लगाउन सकिन्छ सर्जक ई. वस्तीको ‘सूक्तिसङ्ग्रह’ अवश्यमेव सारयोग्य, ग्रहण गर्नलायक अभिव्यक्तिहरूको एक सङ्ग्रहको रूपमा पाठकसमक्ष आएको छ ।
‘सूक्तिसङ्ग्रह’मा जम्मा १५ खण्डमा करिब सात सय ५० वटा सूक्ति छन् । लेखकले आफ्ना स्वस्फुटित विशिष्ट भनाइ, दृष्टिकोण र विचारको कथन वा लेखनलाई नै सूक्ति मानी तिनको सञ्चयन गरेको बुझिन्छ, जसअनुसार खास भनाइमार्फत व्यक्तिने सूक्तिरचना सूक्तिकारका विशिष्ट दृष्टिकोण वा विचारको अभिव्यक्ति हो भन्ने स्पष्ट हुन आउँछ । ‘आन्तरिक कलहले प्रगतिको हुर्मत लिन्छ’ भन्ने सूक्तिबाट सुरु भएको सूक्तिसङ्ग्रहको मैझारोचाहिँ ‘आजको युगमा कसैले कसैलाई खेताला सम्झन्छ भने त्यस्ताको मेलो सर्दैन’ भन्ने पङ्क्तिबाट गरिएको छ । पुस्तकभित्र रोचक, घोचक, प्रेरणास्पद, ज्ञानवद्र्धक सबै खालका सूक्ति समेटिएका छन् ।