जाकर्ता । इन्डोनेसियाको माउन्ट लेवोटोबी लाकी लाकीमा रहेको ज्वालामुखी बुधबार फेरि विस्फोट भएको छ । यसले धुवाँ र खरानीको बादल निम्त्याएको छ ।
मंगलबार साँझदेखि बुधबार दिउँसोसम्म धेरै विस्फोटहरू भएका छन् । मंगलबार दिउँसो भएको ठूलो विस्फोटले खरानी र धुवाँको मुस्लो १० किलोमिटर उचाइमा पुगेको छ । जुन च्याउजस्तो देखिएको थियो । यसलाई एक सय ५० किलोमिटर टाढाबाट समेत देखिएको थियो ।
यस विस्फोटका कारण गाउँहरूबाट मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको थियो र धेरै उडानहरू रद्द गर्नुपरेको थियो । यसमा प्रसिद्ध पर्यटकीय स्थल बाली जाने उडानहरू पनि समावेश छन् ।
विस्फोटको गम्भीरतालाई ध्यानमा राख्दै प्रशासनले उच्चतम स्तरको चेतावनी जारी गरेको छ । ज्वालामुखीबाट आठ किलोमिटरसम्मको क्षेत्रलाई खतरनाक क्षेत्र घोषणा गरिएको छ ।
यस क्षेत्रमा खरानी र साना ढुङ्गाहरू खसिरहेका छन् । खरानी र भग्नावशेष खतरा क्षेत्र बाहिरका गाउँहरूमा पनि खसेको छ । नुरबालेन गाउँका केही बासिन्दाहरूले कोङ्गामा स्थापित राहत शिविरहरूमा शरण लिएका छन् ।
एक हजार पाँच सय ८४ मिटर अग्लो माउन्ट लेवोटोबी लाकी लाकी, फ्लोरेस टिमुर जिल्लामा अवस्थित जुम्ल्याहा ज्वालामुखी हो, जुन माउन्ट लेवोटोबी पेरेम्पुआनसँग जोडिएको छ । यो ज्वालामुखी पहिले पनि धेरै पटक विस्फोट भइसकेको छ । नोभेम्बरमा भएको विस्फोटमा नौ जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए । यो मार्चमा पनि सक्रिय थियो ।