काठमाडौं । सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन घटे पनि कर्जा प्रवाह भने बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको सुदूरपश्चिम प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदनअनुसार २०८१ पुस मसान्तसम्म सुदूरपश्चिम प्रदेशमा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेप २०८१ असार मसान्तको तुलनामा तीन दशमलव १३ प्रतिशतले घटेर एक खर्ब ४४ अर्ब ७८ करोड ७६ लाखमा झरेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप एक दशमलव ९१ प्रतिशतले बढेको थियो ।
२०८१ पुस मसान्तसम्म निक्षेप संकलन अघिल्लो वर्षको सोही अवधिको तुलनामा सात अर्ब ९६ करोड रुपैयाँले बढेको छ । यस्तै, कर्जा प्रवाह २०८१ असार मसान्तको तुलनामा शून्य दशमलव २७ प्रतिशतले बढेर एक खर्ब ५३ अर्ब २६ करोड ६२ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा सात दशमलव २८ प्रतिशतले घटेको थियो । २०८१ पुस मसान्तसम्म प्रदेशमा प्रवाहित कुल कर्जा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने १२ अर्ब ६० करोड रुपैयाँले बढेको छ ।
समीक्षा अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाहरूले संकलन गरेको निक्षेपमा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ४८ दशमलव ६० प्रतिशत र बाजुरा जिल्लाको अंश सबैभन्दा कम अर्थात् दुई दशमलव २७ प्रतिशत छ । त्यसैगरी, कुल कर्जामा कैलाली जिल्लाको अंश सबैभन्दा बढी अर्थात् ६८ दशमलव ७७ प्रतिशत र बाजुरा जिल्लाको सबैभन्दा कम अर्थात् एक दशमलव एक प्रतिशत प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
२०८१ पुस मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूबाट सुदूरपश्चिम प्रदेशमा कृषिमा प्रवाहित कर्जा २०८१ असार मसान्तको तुलनामा शून्य दशमलव ९७ प्रतिशतले घटेर १६ अर्ब ३६ करोड ८३ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा आठ दशमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी अन्य कृषि तथा कृषिजन्य सेवा शीर्षकमा १८ दशमलव ३४ प्रतिशत प्रवाह भएको छ भने सुर्ती शीर्षकमा कर्जा प्रवाह भएको छैन ।
समीक्षा अवधिमा सुदूरपश्चिम प्रदेशमा प्रवाहित कुल कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश १० दशमलव ६८ प्रतिशत छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ६७ दशमलव एक प्रतिशत र कञ्चनपुरको २० दशमलव ४३ प्रतिशत छ । कृषि कर्जाको अंश बाजुरा जिल्लामा सबैभन्दा कम एक दशमलव १० प्रतिशत तथा अछाम जिल्लामा एक दशमलव ३० प्रतिशत छ ।
२०८१ पुसमा औद्योगिक क्षेत्रमा प्रवाह भएको कर्जा २०८१ असार मसान्तको तुलनामा एक दशमलव ३२ प्रतिशतले घटेर २५ अर्ब २६ करोड ४५ लाख पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो कर्जा छ दशमलव १८ प्रतिशतले घटेको थियो । कुल प्रवाहित कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित भएको कर्जाको अंश १६ दशमलव ४८ प्रतिशत छ । समीक्षा अवधिमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादनसम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा बढी ३८ दशमलव ६५ प्रतिशत छ भने खानीसम्बन्धी उद्योगमा प्रवाहित कर्जाको अंश सबैभन्दा कम शून्य दशमलव ५३ प्रतिशत छ ।
बैंक तथा वित्तीय संस्थाहरूले २०८१ पुस मसान्तसम्म औद्योगिक क्षेत्रमा प्रवाह गरेको कर्जामध्ये धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३५ दशमलव ८५ प्रतिशतले वृद्धि भएको छ भने खानीसम्बन्धी कर्जामा ४० दशमलव ३४ प्रतिशतले ह्रास आएको छ । समीक्षा अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल औद्योगिक कर्जामध्ये कैलाली जिल्लाको अंश सबैभन्दा बढी ७८ दशमलव ७४ प्रतिशत छ भने दार्चुला जिल्लाको अंश सबैभन्दा कम शून्य दशमलव ३७ प्रतिशत छ ।
यसैगरी, कञ्चनपुर, डडेल्धुरा, डोटी, अछाम, बझाङ, बाजुरा तथा बैतडीको अंश क्रमशः १६ दशमलव ३५ प्रतिशत, एक दशमलव ५१ प्रतिशत, शून्य दशमलव ९८ प्रतिशत, शून्य दशमलव ५५ प्रतिशत, शून्य दशमलव ५१ प्रतिशत, शून्य दशमलव ५० प्रतिशत र शून्य दशमलव ४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।