काठमाडौं । मधेश प्रदेशको कृषि क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह बढाएका छन् ।
नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययनसम्बन्धी प्रतिवेदनअनुसार मधेश प्रदेशमा प्रवाहित कृषि कर्जा गत वर्ष सोही अवधिको भन्दा १० दशमलव ३५ प्रतिशतले बढेर ६४ अर्ब ६२ करोड पुगेको छ । गत वर्र्षको सोही अवधिमा यस्तो कर्जा ५८ अर्ब ५६ करोड थियो ।
मधेश प्रदेशमा प्रवाह भएको कुल कर्जामध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १३ दशमलव २३ प्रतिशत छ । मधेश प्रदेशमा प्रवाहित कुल कृषि कर्जामध्ये सर्लाही जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा बढी अर्थात् १६ प्रतिशत र सप्तरी जिल्लामा प्रवाह भएको कर्जाको हिस्सा सबैभन्दा कम अर्थात् आठ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुुसार सहुलियतपूर्ण कर्जा भने १० अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । प्रवाहित कुल कर्जामध्ये सबैभन्दा बढी एक अर्ब ८० करोड अर्थात् १७ प्रतिशत धनुषा जिल्लामा र सबैभन्दा कम ५८ करोड अर्थात् पाँच प्रतिशत सप्तरी जिल्लामा छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कजा १० दशमलव ९९ प्रतिशतले बढेर एक खर्ब २५ अर्ब १३ करोड रहन गएको छ । गत आर्थिक वर्र्षको सोही अवधिमा यस्तो कर्जा एक खर्ब १२ अर्ब ७४ करोड थियो । समीक्षा अवधिमा मधेश प्रदेशमा औद्योगिक क्षेत्रमा प्रवाहित कर्जामध्ये सबैभन्दा बढी कर्जा पर्सा जिल्लामा ६६ दशमलव ३३ प्रतिशत र सबैभन्दा कम सप्तरी जिल्लामा दुई दशमलव २० प्रतिशत छ । मधेश प्रदेशमा सबैभन्दा धेरै उद्योगहरू पर्सा जिल्लामा रहेकाले सबैभन्दा बढी औद्योगिक कर्जा प्रवाह उक्त जिल्लामा भएको देखिन्छ ।
प्रतिवेदनअनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा एक खर्ब २५ अर्ब १३ करोडमध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५८ दशमलव ९५ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३० दशमलव १६ प्रतिशत, निर्माण उद्योगतर्फ पाँच दशमलव ४४ प्रतिशत, धातुको उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादनतर्फ चार दशमलव १३ प्रतिशत, विद्युत्, ग्यास तथा पानी उद्योगतर्फ शून्य दशमलव ५४ प्रतिशत र खानी उद्योगतर्फ शून्य दशमलव ७७ प्रतिशत कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ ।
समग्रमा गत आर्थिक वर्षका सोही अवधिको तुलनामा औद्योगिक कर्जा विस्तारमा १० दशमलव ९९ प्रतिशतले बढको छ । गत आर्थिक वर्षको तुलनामा समीक्षा अवधिमा निर्माण उद्योगतर्फ प्रवाह भएको कर्जामा एक दशमलव १६ प्रतिशत, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिक्स उत्पादनतर्फ दुई दशमलव ३८ प्रतिशत र विद्युत् ग्यास तथा पानीतर्फ प्रवाह भएको कर्जामा २४ दशमलव पाँच प्रतिशत, गैर–खाद्यवस्तु उत्पादनतर्फ प्रवाह भएको कर्जामा १० दशमलव ८० प्रतिशत, कृषि, वन तथा पेय पदार्थ उत्पादनतर्फ १६ दशमलव चार प्रतिशतले वृद्धि भएको छ भने खनिज उत्पादनमा प्रवाह भएको कर्जामा २७ दशमलव २१ प्रतिशतले कमी आएको छ ।
बैंक तथा वित्तीय संस्थाले समीक्षा अवधिमा मधेश प्रदेशबाट संकलन गरेको कुल निक्षेप गत वर्षको सोही अवधिको तुलनामा १३ दशमलव १७ प्रतिशतले बढेर तीन खर्ब ५३ अर्ब ४२ करोड पुगेको छ । गत वर्षको सोही अवधिमा यस्तो निक्षेप पाँच दशमलव ३३ प्रतिशतले बढेर तीन खर्ब १२ अर्ब ३० करोड पुगेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाले यस प्रदेशमा प्रवाह गरेको कर्जा गत वर्षको सोही अवधिको तुलनामा १२ दशमलव १७ प्रतिशतले बढेर चार खर्ब ८८ अर्ब ३८ करोड पुगेको छ ।
गत वर्षको सोही अवधिमा यस्तो कर्जा तीन दशमलव २९ प्रतिशतले घटेर चार खर्ब ३५ अर्ब ३८ करोड रहेको थियो । निक्षेप परिचालन र कर्जा प्रवाहको आँकडालाई तुलना गर्दा अन्य प्रदेशहरूमा संकलन भएको वित्तीय स्रोत मधेश प्रदेशमा स्थानान्तरण भई सोको उपयोग भएको प्रतिवेदनमा उल्लेख छ ।