काठमाडौं । पछिल्लो दुई महिनाको तथ्यांकअनुसार नेपालमा दैनिक सयभन्दा बढी सडक दुर्घटना भएको, चार सय ५६ जनाको ज्यान गएको र हजारौँ नागरिक घाइते भएको समाचार सार्वजनिक भएको छ । यो आँकडाले देशमा सडक सुरक्षाको अवस्था कति भयावह छ भन्ने कुराको स्पष्ट संकेत गर्दछ । यस्ता दुर्घटनाहरूले न केवल व्यक्तिगत तथा पारिवारिक पीडा सिर्जना गर्छन्, बरु सामाजिक र आर्थिक विकासमा पनि गम्भीर असर पार्दछन् ।
सडक दुर्घटना हुनुको प्रमुख कारणहरूको समीक्षामा हेर्दा पत्ता लाग्छ कि यो कुनै एउटै पक्षको कमजोरी होइन । यो सामूहिक बेवास्ता, लापरवाही र प्रणालीगत असफलताको परिणाम हो । नेपालका धेरैजसो सडकहरू असन्तुलित, साँघुरा र मर्मतविहीन छन् । कतिपय स्थानमा त सडकमा खाल्डाखुल्डी, जलमग्न अवस्थाले यात्रुहरूलाई ज्यानको जोखिमा यात्रा गर्न बाध्य बनाएको छ । त्यस्तैगरी अब वर्षा ऋतु पनि आइसकेको छ । यो समयमा त बाढी, पहिरोजस्ता प्राकृतिक विपत्तिका कारण बाटो नै बगाउने र हिँडिरहेका सवारीसाधन समेत बगाउने वा पहिरोले बेपत्ता बनाउने जोखिम समेत हुन्छ ।
अर्को ठूलो समस्या भनेको चालकको लापरबाही र बेपरवाहीपूर्ण व्यवहार हो । ट्राफिक नियमको पालना नगर्ने, मदिरा सेवन गरेर गाडी चलाउने, मोबाइल फोन प्रयोग गरेर गाडी चलाउने, निर्धारित गतिको सीमा नमान्ने, ओभरटेक गर्ने क्रममा जोखिम मोलेर अनावश्यक ज्यान गुमाउने घटनाहरू दिनप्रतिदिन बढ्दै गएका छन् । यस्तो प्रवृत्तिलाई समयमै नियन्त्रण गर्न सकेन भने दुर्घटनाको दर अझै भयावह बन्नेछ ।
साथै, लेन अनुशासनको पालना नगर्नु, जताततैबाट सवारी चलाउने, जथाभावी बाटो काट्ने पैदलयात्रुहरूको प्रवृत्तिले पनि दुर्घटनालाई निम्त्याइरहेको छ । धेरैजसो सहरहरूमा जेब्राक्रस वा ट्राफिक सिग्नलको अभावले समस्या झन् जटिल बनाएको छ । चौपाया तथा सडकमा खुला छाडिएका कुकुरहरूले बाटो काट्दा पनि अचानक ब्रेक लगाउनु पर्दा ठक्कर वा पल्टिने घटना भइरहेका छन् ।
सडक दुर्घटनाको समाधानका लागि बहुआयामिक पहल आवश्यक छ । पहिलो– राज्यले सडक पूर्वाधार सुधार गर्न गम्भीर ढंगले ध्यान दिनुपर्छ । गुणस्तरीय, चौडा, लेन विभाजन भएको, नालीसहितको सडक निर्माण तथा नियमित मर्मत आवश्यक छ । यस्तो सबै नभए पनि भएको सडकअनुसार नै गाडी नचलाउँदा अझ दुर्घटना बढिरहेको छ ।
दोस्रो– सवारी चालकहरूको तालिम, अनुशासन र मानसिकताको सुधारका लागि कठोर मापदण्ड अवलम्बन गरिनुपर्छ । अनिवार्यरूपमा सवारी चालक अनुशिक्षण, लाइसेन्स प्रणालीमा पारदर्शिता र कडाइ लागू हुनुपर्छ । लाइसेन्स पाएपछि पनि केही अवधिसम्म परीक्षणमा राख्नु पर्छ ।
तेस्रो– ट्राफिक प्रहरीको उपस्थितिलाई सशक्त बनाउन आवश्यक छ । ट्राफिक निगरानीका लागि आधुनिक प्रविधिको प्रयोग, जस्तैः सीसीटीभी, स्पिड गन र स्वचालित जाँच प्रणाली अनिवार्य गर्नुपर्छ । लेन अनुशासन कडाइका साथ पालना गराउनु पर्छ र अनावश्यक हर्न बजाउन रोक लगाउनु पर्छ ।
चौथो– जनचेतना अभिवृद्धि पनि अत्यन्त जरुरी छ । विद्यालयदेखि सार्वजनिक तहसम्म सडक सुरक्षाका विषयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ । स्कुल, कलेजका विद्यार्थीहरूलाई स्वयंसेवक बनाई ट्राफिकलाई साथ दिने वातावरण बनाउनु पर्छ । बाटोमा जथाभावी पार्किङ गर्ने र निर्माण सामग्री थुपार्नेहरूलाई पनि कडा कारबाही गर्नुपर्छ ।
यसबाहेक पैदलयात्री, साइकल चालक, मोटरसाइकल चालक, सार्वजनिक सवारी चालक, निजी गाडीधनी सबैले ट्राफिक नियमको इमान्दारपूर्वक पालना गर्न जरुरी छ । हामी सबैले ‘सडक हाम्रो साझा सम्पत्ति हो, तर सुरक्षित प्रयोग गर्नु पनि हाम्रो जिम्मेवारी हो’ भन्ने भावनालाई आत्मसात् गर्नुपर्छ ।
त्यसैले, सडक दुर्घटना कुनै प्राकृतिक प्रकोप होइन, यो मानव निर्मित समस्या हो, यसलाई मानवले नै नियन्त्रण गरे सजिलै समाधान गर्न सकिन्छ । यदि सबै पक्षले आफ्नो भूमिकाको इमान्दारीपूर्वक निर्वाह गरे, सडक दुर्घटनामा उल्लेखनीयरूपमा कमी ल्याउन सकिन्छ । प्रत्येक नागरिकको जीवन अमूल्य हुन्छ, त्यसैले सडकमा हिँड्दा वा गाडी चलाउँदा सधैं सतर्क, सचेत र जिम्मेवार बनौँ । यिनै प्रयासहरूले मात्र सुरक्षित नेपाल, सुरक्षित यात्रा र समृद्ध समाजको निर्माण सम्भव बनाउनेछ ।
विकसित राष्ट्रहरूमा जस्तै पैदल यात्री र सवारीसाधन सँगै चल्ने ठाउँमा सवारी चालकहरूले मानव मूल्य बुझेर, हर्न नबजाई टाढाबाट सवारी चलाउने र मानव मूल्यलाई अग्रीमरूपमा राख्ने गर्छन् । तर हाम्रो देशमा न त एम्बोस्ड नम्बर नै कार्यान्वयनमा आउन सक्यो, न त सबै ठाउँमा क्यामेरा जडान गरेर कारबाही गर्न सकियो । यसले खराब चालकहरूलाई उन्मुक्ति दिँदै गएको छ ।
नेपाली नागरिक र सरकारी स्तरबाटै अन्तर्राष्ट्रिय मापदण्डको ट्राफिक व्यवस्थापनबाट सिक्ने बेला आएको छ । प्राकृतिक प्रकोपबाहेक जोखिम न्यूनीकरण गर्नु सबैको दायित्व हो ।
अन्तर्राष्ट्रिय अभ्यासबाट सिक्नुपर्ने कुरा
अमेरिकालगायत विकसित देशहरूमा ट्राफिक नियमलाई अत्यन्तै कडाइका साथ पालना गराइन्छ, प्रहरीलाई विशेष मानिन्छ । त्यसैगरी, स्वीडेनको ‘भिजन जेरो’ नीतिलाई सडक दुर्घटनामा मृत्यु शून्यमा ल्याउने लक्ष्यसहित कार्यान्वयन गरिएको छ, जसले उल्लेखनीय प्रगति देखाएको छ । जापानमा सार्वजनिक यातायातलाई प्राथमिकता दिइन्छ । कतिपय ठाउँमा त साइकल प्रयोग गरिन्छ र प्रायः देशहरूमा सरकार, स्थानीय निकाय, ट्राफिक प्रहरी र सर्वसाधारणबीच प्रभावकारी समन्वय कायम गरिन्छ ।
चालकको गति सीमित गर्न इलेक्ट्रोनिक स्पीड कन्ट्रोल, दुर्घटना सम्भावित स्थानमा चेतावनी चिह्न, सडक डिभाइडर, लेन अनुशासन, सडक बत्तीको प्रयोग गर्नुका साथै साइकल लेन र पैदल यात्रुहरूका लागि अलग बाटो बनाउनेजस्ता व्यवस्थाहरूले दुर्घटनाको दर अत्यन्त न्यून बनाइएको छ ।
त्यस्तै, जर्मनी, सिंगापुर, नेदरल्याण्ड, क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड र दुबईलगायत अन्य देशहरूले ट्राफिक नियमको कठोर पालना, प्रविधिको भरपुर प्रयोग, सार्वजनिक चेतना र दण्ड प्रणालीलाई प्रभावकारीरूपमा लागू गरेर सडक सुरक्षा सुधार गरेका छन् । नेपालले पनि यस्ता अभ्यासहरूलाई सान्दर्भिकरूपमा अध्ययन गरी आफ्नो परिवेशअनुसार लागू गर्नसकेमा सुधार ल्याउन सकिन्थ्यो । त्यसैले नेपालमा ट्राफिक नियम मिच्नेलाई अत्यन्तै कडा कारबाही गर्नु जरुरी छ ।
सडक दुर्घटनाबाट सिर्जने आर्थिक र सामाजिक असर
सडक दुर्घटना केवल ज्यान गुमाउने वा घाइते हुनेको मात्र पीडा होइन, यसले राष्ट्रिय अर्थतन्त्रमा गम्भीर असर पार्छ । देशप्रति हेर्ने दृष्टिकोणमा नकारात्मक असर पर्छ, आन्तरिक पर्यटकदेखि बाह्य पर्यटकको मनोबलमा पनि कमी आउँछ । काम गर्न सक्ने उमेर समूहका मानिसहरूको मृत्यु वा अपाङ्गता आर्थिक उत्पादकत्वमा ठूलो नोक्सान हो । मानसिक विचलन हुन्छ, एउटा परिवार टुहुरो बन्छ र राष्ट्रलाई नै क्षति पुग्छ । घाइतेको उपचार खर्च, परिवारको भरणपोषणमा समस्या, बीमा र प्रशासनिक खर्च, अनि ट्राफिक जाम र समयको क्षतिले पनि देशको आर्थिक वृद्धिमा प्रतिकूल असर पुर्याउँछ । झन् ट्राफिक जामले त महँगो पेट्रोलको विनाअर्थको खर्च बढाउँछ ।
नेपालमा सडक दुर्घटनाका कारण वार्षिकरूपमा जनधनलगायत अर्बौँ रूपैयाँबराबरको आर्थिक क्षति र मानवीय जीवनको क्षति भइरहेको छ । अझै गम्भीर कुरा त के छ भने, पीडित परिवारको मानसिक, सामाजिक र भावनात्मक स्थिति अत्यन्त विकराल बन्छ, जसको समाधान पैसाले मात्र सम्भव हुँदैन । यसले घर, परिवार र समाजमा गहिरो समस्या निम्त्याउँछ ।
हाम्रो नेपालमा नीति त बन्छ तर कार्यान्वयन गर्नु राज्यको दायित्व हो र नागरिक पनि सचेत हुनुपर्छ । ‘गाजर र छडी’ नीति अवलम्बन गर्नुपर्छ । नेपालमा सडक दुर्घटना न्यूनीकरणका लागि नीति त बनाइएका छन्, तर ती कार्यान्वयनमुखी पूर्णरूपमा बन्न सकेका छैनन् ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रियामा पारदर्शिता र मापदण्डको कमी, सिक्दै गरेका चालकहरू सडकमा देखिनु र पूर्ण तयारी नपुगी सवारी चलाउनुले सडक दुर्घटनालाई बढावा दिएको छ । साथै ट्राफिक प्रहरीमा जनशक्ति र स्रोतसाधनको अभाव, मोबाइल ट्राफिकको कमी, चालकको लापरबाही, सडक मार्किङको कमजोरी जसले गर्दा जथाभावी गाडी गुड्ने अवस्था र नियमको उल्लंघन भएको देखिन्छ ।
त्यसैगरी सडक निर्माणमा गुणस्तरको लापरवाही, अनि राजनीतिक हस्तक्षेपले गर्दा राज्यको भूमिका दिनप्रतिदिन कमजोर देखिएको छ । तर सडकमा भने प्रत्येक दिन दुर्घटनाको खबर र सवारी साधनको संख्यामा वृद्धि भइरहेको छ । सडक निर्माणमा अनियमितता, कागजमा मात्र देखिने काम र सम्बन्धित निकायहरूबीच समन्वयको अभावले दुर्घटनाका जोखिम अझ बढाएका छन् । एउटाले बनाउने र अर्कोले भत्काउने कामले लापरबाही र समन्वयको कमी स्पष्ट देखिन्छ । किनभने कहिलेकाहीँ सडक दुर्घटना भएपछि मात्रै सरकार र प्रहरी सक्रिय देखिन्छन्, जुन प्रवृत्ति दीर्घकालीन समाधानको बाधक हो ।
तर अब हाम्रो आँखा खुल्नुपर्ने समय आएको छ, नत्र नेपालको सडकमा हिँड्नु भनेको काल निम्त्याउनुजस्तै हुनेछ । झन् आजकल त विभिन्न राइड सेवाका चालकले चलाएको बाइकले त साँच्चिकै सन्त्रस्त बनाउने गरेका छन् । होडबाजीमा चलाउने, नियम नमान्ने र रिसराग, इगोका कारण सडकमा दुर्घटना भइरहेका छन् ।
त्यसैले अब सोचौँ, दीर्घकालीन समाधानको उपायतिर जाऔँ, खाल्डाखुल्डी नराखौँ, हरेक पूर्वाधारको सुधार गरौँ, ट्राफिक नियम मानौँ, सडकमा मार्किङ गरौँ र चालकले पनि ट्राफिक चिह्न र संकेतको राम्ररी पालना गरौँ । साथै चालकहरूलाई ट्राफिक शिक्षा दिऔँ, चेतनाको कक्षा प्रभावकारी बनाऔँ, ट्राफिक नियमको जरिबाना निकै बढाऔँ, सडकमा चौपाया नछाडौँ, सडकमा पार्किङ नगरौँ र जनचेतना हरेक ठाउँबाट सुरु गरौँ । साथै दुर्घटनापछिको लागि आपत्कालीन अस्पताल, हाइवे प्रहरी, बीमा र तुरुन्तै कारबाही गर्नेलाई ढिला नगरौँ, यसले गर्दा दीर्घकालीन सुधार हुने निश्चित छ ।
निष्कर्षमा
नेपालमा बढ्दो सडक दुर्घटना धेरै कारणहरूले भएको देखिन्छ । यो केवल ट्राफिक नियम उल्लंघनको परिणाम मात्र होइन, यो समग्र प्रणालीगत कमजोरीको प्रतिविम्ब हो । जथाभावी ओभरटेक, गाडी चलाउँदा प्रतिस्पर्धा, रिसराग र अहङ्कारले पनि दुर्घटना बढाएको छ । यसले हामी सबैलाई चनाखो र जिम्मेवार बनाउने समय आएको छ । दुर्घटना न्यूनीकरण केवल राज्यको काम मात्र नभई नागरिकको पनि दायित्व हो । त्यसैले गुनासो गर्ने र सुन्ने ठाउँ पनि हुनुपर्छ । कसैले गल्ती गरिहालेमा तुरुन्त कारबाही गर्ने हो भने यो दोहोरिँदैन । अब दुर्घटना घटाउनु हामी सबैको साझा दायित्व हो ।
यदि सरकार, चालक, नागरिक, यातायात व्यवसायी, शिक्षा व्यवस्था, मिडिया र सबै सरोकारवालाहरूले मिलेर गम्भीर प्रयास गरेमा र हामी सबैले आफ्नो दायित्व सम्झिएर अघि बढेमा नेपालको सडक सुरक्षित बनाउन सकिन्छ । हामीले ‘मृत्यु’जस्तो सुन्नै नसकिने कुरालाई सामान्य खबर होइन, गम्भीर चेतावनीको रूपमा लिएर चनाखो भई गाडी चलायौँ भने मात्र पनि दुर्घटना न्यूनीकरण गर्न सकिन्छ ।
सडक सबैको साझा सम्पत्ति हो, हिँड्ने र गुड्ने ठाउँमा त्यहीअनुसार प्रयोग गरौँ, गुड्ने ठाउँमा सबै नियम पालना गरौँ । आफू पनि बचौँ र अरूलाई पनि बच्न दिऔँ । सडक केवल गन्तव्यमा पुग्ने माध्यम मात्र होइन, यो जीवनको बाटो कोर्ने बाटो हो । त्यसैले, हामी सबैले अबदेखि नियमअनुसार आफ्नो अनुशासनलाई मध्यानजर गर्दै सडक अनुशासन पनि गरौँ र सजग भई सडक प्रयोग गरौँ । सबै मिलौँ सडकमा । सडक झगडा गर्ने थलो होइन, मर्ने वा मारिने थलो पनि होइन । यसको उचित प्रयोग गरी, जे कुरामा निस्किएका छौँ, त्यो काम गरेर सुरक्षित रूपमा गन्तव्यमा पुग्न सकौँ ।