काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीका अभिकर्ताहरूका लागि सीप विकास कार्यक्रम सम्पन्न गरेको छ । गत जेठ ३१ र असार १ गते बर्दियाको एक रिसोर्टमा कार्यक्रम सम्पन्न गरिएको हो ।
कार्यक्रमलाई अझ प्रभावकारी र ज्ञानवर्द्धक बनाउन कम्पनीमा अतुलनीय योगदान दिइरहेका अभिकर्ताहरूलाई विशेष प्राथमिकतासहितको तालिम प्रदान गर्न छिमेकी मुलुक भारतका अनुभवी प्रशिक्षक विजयकुमार झालाई आमन्त्रण गरिएको थियो । झा मोटिभेसनल स्पिकर र सेल्स ट्रेनरको रूपमा भारतदेखि विश्वको विभिन्न देशहरूमा प्रख्यात छन् । भारतकै ठूलो र प्रतिष्ठित जीवन बीमा कम्पनी, लाइफ इन्स्योरेन्स कर्पोरेसनमा आबद्ध झाले थुप्रै कार्यानुभव र ख्याती कमाइसकेका छन् ।
यस सीप विकास अभिवृद्धि कार्यक्रममा झाले जीवन बीमा कम्पनीको सन्दर्भमा केन्द्रित रही अत्यन्त प्रभावकारी प्रशिक्षण प्रदान गरे । उनले जीवन बीमाको मूल उद्देश्य, ग्राहकको मनोविज्ञान, ग्राहकसँग सम्बन्ध निर्माण, आपत्ति समाधान गर्ने तरिका, तथा दीर्घकालीन सम्बन्ध विस्तारका व्यावहारिक उपायहरूबारे स्पष्ट र प्रयोगमा ल्याउन मिल्ने सुझावहरू दिए । यो प्रशिक्षणले सहभागीहरूलाई आफ्ना बिक्री सीप सुधार गर्न, ग्राहकसँग अझ आत्मविश्वासका साथ प्रस्तुत हुन र कम्पनीको व्यावसायिक लक्ष्य प्राप्तिमा योगदान पुर्याउन प्रेरित गरेको छ ।
कार्यक्रममा ८० भन्दा धेरै अभिकर्ताहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कंडेल, प्रमुख व्यवसाय अधिकृतहरू, क्षेत्रीय प्रबन्धकहरूलगायत सुदूरपश्चिम र कर्णाली प्रदेशका सबै तथा बाँके र बर्दियाको शाखा तथा उपशाखाका कर्मचारीहरूको पनि उपस्तिथि रहेको थियो । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृतले प्रशिक्षणको महत्व र अपरिहार्यतामाथि प्रकाश पार्दै तालिमबाट सिकेका कुराहरूलाई व्यावहारिकतामा उतार्नुपर्ने बताए ।
सोही कार्यक्रममा बोल्दै नायब प्रमुख कार्यकारी अधिकृतले सीप विकासजस्ता तालिमले अभिकर्ताहरूलाई व्यावहारिक सीप र आत्मविश्वास प्रदान गर्ने भन्दै बीमालेख बिक्री दरको वृद्धि र ग्राहक सन्तुष्टिमा योगदान पुर्याउने र कम्पनीको दीर्घकालीन सफलता र प्रतिस्पर्धात्मक क्षमतालाई मजबुत बनाउने बताए ।