काठमाडौं । नेपाली युवाहरूले नेपालकै पहिलो अनलाइन भिसा एप्लिकेसन पोर्टल सञ्चालनमा ल्याएका छन् । ट्राभल व्यवसायमा झण्डै एक दशकयता निरन्तर क्रियाशील युवा उद्यमीहरूले भिसा आवेदनका लागि अनलाइन पोर्टल निर्माण गरी सञ्चालनमा ल्याएका हुन् ।
नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानका लागि नेपएक्स ट्राभल्स डटकमको वेभसाइटमा गएर भिसा आवेदन दिन सकिन्छ । ‘नेपालबाट कुनै पनि देश जानका लागि वा कुनै पनि देशबाट नेपाल आउनका लागि भिसा आवेदन दिन सकिने यो पोर्टलले भिसा आवेदनका क्षेत्रमा रहेका धेरै समस्याहरूको पूर्ण समाधान गरेको छ’, नेपएक्स ट्राभल्सका संस्थापक संगम सिंह भन्छन्, ‘हामीले कुनै पनि देशको भिसा आवेदन केही क्लिकमा सजिलै दिन सकिने गरी पोर्टलको निर्माण गरेका छौँ ।’
भिसा आवेदनका लागि आवश्यक पर्ने डकुमेन्ट चेक लिस्ट, ट्राभल आईटिनरी, एअरलाइन्स टिकट रिजर्भेसन नेपेक्सको अनलाईन पोर्टलबाट सजिलै तयार गर्न सकिनेछ भने र आवश्यक फि तथा सर्भिस चार्ज समेत अनलाइनबाटै तिर्न सकिन्छ । नेपालबाट भिजिट भिसामा विश्वको जुनसुकै देशमा जानको लागि नेपएक्स ट्राभल्स डट कम वेभसाइटमा गएर भिसा आवेदन दिन सकिन्छ । तर यसको प्रभाव नेपाल आउने पर्यटकका लागि झन् ठूलो छ । नेपाल आएर अध्यागमनको लामो लाइनमा बसेर भिसा आवेदन दिई भिसा फि तिर्नुपर्ने ठूलो झञ्झटबाट यसले मुक्ति दिलाउँदैछ ।
नेपाल आउने कुनै पनि देशका पर्यटकले नेपएक्सट्राभल्स डटकममार्फत इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (इटीए) लिएर सजिलै नेपाल प्रवेश गर्न सक्नेछन् । यसरी नेपएक्सट्राभल्स डटकमबाट इटिए लिँदा शुल्क समेत अनलाइनबाटै तिर्न सकिन्छ भने अध्यागमनमा अधिकारीले विनाझन्जट भिसा प्रिन्ट गरेर प्रवेश अनुमति दिनेछन् । यसले नेपालमा पर्यटन आउँदा नेपालको पहिलो अनुभव राम्रो दिलाउने मात्र होइन लामो यात्रा गरेर आएका पर्यटकलाई समय समेत बचत गराउनेछ । नेपएक्स ट्राभल्सका संस्थापक सिंह भन्छन्, ‘यो पोर्टलले नेपालको पर्यटन क्षेत्रको विकासमा ठूलो मद्दत पुर्याउने हाम्रो विश्वास रहेको छ ।’