काठमाडौं । राष्ट्र बैंकले तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेको १० रुपैयाँको नोट गत सातादेखि चलनचल्तीमा ल्याए पनि विवादका कारण एक सय र एक हजार रुपैयाँ दरको नोट बजारमा ल्याउन नसक्ने भएको छ । त्यसैले नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेल नेपाली नोट छपाइका कारण संकटमा पर्ने देखिएका छन् ।चुच्चे नक्सा अंकित एक सय रुपैयाँको नोट बजारमा ल्याउन समस्या देखिएपछि गभर्नर पौडेल संकटमा पर्न सक्ने देखिएका हुन् । भर्खरै गभर्नर पदमा नियुक्त भएर आएका पौडेललाई गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरित चुच्चे नक्सा अंकित एक सय रुपैयाँको नोट ल्याउन सकस परेको हो ।
चिनियाँ कम्पनीले नोट छापे पनि राष्ट्र बैंकले ती एक सय दरका नोट बजारमा ल्याउन सकेको छैन । चिनियाँ कम्पनीलाई अमेरिकी डलर ८९ लाख ९६ हजार पाँच सय ९२ अर्थात्् वर्तमान मूल्य एक अर्ब २२ करोड ३५ लाख ३६ हजार पाँच सय १२ रुपैयाँ भुक्तानी दिएर छापेको चुच्ने नक्सा अंकित एक सय रुपैयाँ अंकित ३० अर्ब रुपैयाँ बराबरको ३० करोड प्रति अहिले राष्ट्र बैंकको गोदाममा थन्किएको छ । त्यतिबेला नेपाली नोटमा चुच्चे नक्सा छाप्ने सरकारको निर्णयलगत्तै भारतले गम्भीर आपत्ति जनाएको थियो । साथै, सो निर्णय फिर्ता लिन सरकारलाई दबाब पनि दिएको थियो ।
तर, नेपाल भने सो निर्णयबाट पछि हटेन र छपाइ गर्ने निचोडमा पुग्यो । एकैपटक छापिएको गभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरित १० रुपैयाँको नोट हालसालै बजारमा आए पनि एक सय दरको नोटमा चुच्चे नक्सा भएका कारण बजारमा ल्याउन सकेको छैन । चुच्चे नक्सासहितको नोट बजारमा ल्याएमा हालका गभर्नर विश्वनाथ पौडेललाई गाह्रो हुने अवस्था छ ।सरकारले एक सयको नोटमा पुरानो नेपालको नक्सा हटाएर संशोधन गरेर ल्याइएको लिम्पियाधुरा, लिपुलेक र कालापानी रहेको चुच्चे नक्सा छपाउने निर्णय गरेसँगै राष्ट्र बैंकले चिनियाँ कम्पनीलाई बोलपत्र मार्फत् छपाइको जिम्मा दिएको थियो । चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार पाँच सय अमेरिकी डलर अर्थात् वर्तमान बजार मूल्य एक अर्ब २२ करोड ३५ लाख ३६ हजार पाँच सय १२ रुपैयाँमा ३० अर्ब रुपैयाँ बराबरको एक सय रुपैयाँ अंकित ३० करोड थान नोट छापेको थियो ।
चिनियाँ कम्पनीले छपाइको काम पूरा भइसकेको जानकारी समेत दिएको छ । सो नेपाली नोट बजारमा ल्याए भारतबाट अर्को नाकाबन्दी र नेपालले अर्को आर्थिक संकट झेल्नुपर्ने अवस्था आउन सक्नेछ । जसका कारण पनि नेपालले चुच्चे नक्सा अंकित एक सय रुपैयाँको नोट बजारमा ल्याउन सकेको छैन ।भारतले चुच्चे नक्सा अंकित नेपाली नोट बजारमा ल्याए नेपालसँगको सम्बन्ध राम्रो नहुने संकेत यसअघि नै गरिसकको छ । तर, राष्ट्र बैंकका गभर्नर पौडेल भने पूर्वगभर्नर महाप्रसाद अधिकारीको हस्ताक्षरित एक सय रुपैयाँ अंकित नोटका कारण बिलखबन्धनमा परेका छन् ।नेपाल सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेसँगै राष्ट्र बैंकले ग्लोबल टेन्डर आह्वान गरेको थियो । ग्लोबल टेन्डरमार्फत् नेपाल राष्ट्र बैंकले नेपालको संविधानको अनुसूचीमा भएको चुच्चे नक्सा अंकित एक सय रुपैयाँको नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको थियो । राष्ट्र बैंकले बोलपत्रमार्फत कम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेसनलाई नोट छाप्ने, आपूर्ति तथा डेलिभरी गर्ने जिम्मा दिएको थियो । राष्ट्र बैंकले यसअघि पनि एक सय रुपैयाँको नोटमा नेपालको नक्सा राख्दै आएको थियो । सरकारले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि भारतले कूटनीतिक नोटमार्फत् आपत्ति जनाइसकेको छ ।
राष्ट्र बैंकले ३० करोड थान एक सय रुपैयाँका नोट छाप्न चिनियाँ कम्पनी छनोट गरेकोे थियो । २०८१ वैशाख २० गते बसेको मन्त्रिपरिषद्को बैठकले एक सय रुपैयाँको नोटमा चुच्चे नक्सासहितको फोटो राख्ने निर्णय गरेको थियो । त्यो बेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । संविधान संशोधन गरेर कालापानी र लिपुलेकसहितको नेपालको चुच्चे नक्सा प्रचलनमा ल्याइएको थियो । सोही नक्सा अब एक सय रुपैयाँको नोटमा पनि समावेश गर्न लागिएको हो ।
त्यस्तै, अर्कोतर्फ भारतीय सेक्युरिटी प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसनलाई नेपाली नोट एक हजार रुपैयाँको ४३ करोड थान छपाइका लागि ठेक्का दिएको थियो । तत्कालीन समयमा उक्त ठेक्काको मूल्य अमेरिकी डलर एक करोड ११ लाख ३४ हजार पाँच सय छ डलर तोकिएको थियो । त्यसमध्ये सरकारले आंशिकरूपमा रकम भुक्तानी दिएको थियो । उक्त छपाइको लागि अझै नेपाली रुपैयाँमा एक अर्ब ५१ करोड ४२ लाख रुपैयाँ भुक्तानी दिन बाँकी देखिएको छ । सेक्युरिटी फेल भए पनि यसरी छापिएको नयाँ नोट सक्कली एक हजार रुपैयाँको जस्तै छ ।
हाल सेक्युरिटी थ्रेडका कारण ठेक्का रद्द भएपछि उसले छपाएको करोडौँ नेपाली रुपैयाँ अब के हुन्छ अन्योल छ । तर, सो कम्पनीले नमुनाको रूपमा छपाएको सेक्युरिटी फेल भएको नेपाली रुपैयाँ खुला सीमानाकाका कारण नेपाल भित्रिए के हुने भन्ने त्रास अझै बाँकी छ ।नेपाल राष्ट्र बैंकले २०८० फागुनमा भारत सरकारको वित्त मन्त्रालयअन्तर्गतको ‘सेक्युरिटी प्रिन्टिङ एन्ड माइनिङ कर्पोरेसन’सँग एक हजार र ५० रुपैयाँ दरको नोट छाप्ने ठेक्का रद्द गरेको थियो । सो कम्पनीले छापेको नोटमा सेक्युरिटी थ्रेटको समस्या देखेपछि राष्ट्र बैंकले ठेक्का प्रक्रिया रद्द गरेको थियो ।कम्पनीले नमुनाका लागि भनी छापिएको नोटको ‘डिजिटल भर्सन’ बैंकको केन्द्रीय कार्यालय, बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागमा बुझाएको थियो । विशेष कागजमा छापिने ती नोटबारे बैंकका अधिकारीहरूले भारतीय कम्पनीसँग पटकपटक छलफल गरे तर सेक्युरिटी थ्रेटको समस्या भएका कारण नेपाल राष्ट्र बैंकले ठेक्का रद्द गरिदियो । नोट छाप्नका लागि कागज प्रारम्भिक चरणमा नै पानीछाप, सेक्युरिटी थ्रेड हालेर बनाइएको हुन्छ । तर, भारतीय ठेकेदार कम्पनीले नमुनाका लागि बनाएर पठाएको पैसामा सेक्युरिटी थ्रेट नभएपछि राष्ट्र बैंकले ठेक्का प्रक्रिया रद्द गरेको थियो ।
भारतीय कम्पनीले भने ५० सँगै एक हजार दरको नोट पनि छाप्ने टेन्डर अघिल्लो २०७९ मंसिरमै हात पारेको थियो । एक हजार दरका ४३ करोड थान नोट एक करोड ११ लाख ३४ हजार पाँच सय छ अमेरिकी डलरमा छाप्ने अनुमति दिइएको थियो । एक हजारको नोटमा पनि सेक्युरिटी थ्रेडको समस्या देखिएपछि भारतीय कम्पनी असफल भएको राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग र प्राविधिक र कार्य व्यवस्था कमिटीले ग्लोबर टेन्डर रद्द गर्ने निचोडमा पुगेको थियो ।
२०७९ पुस २६ गते ठेक्काको आधिकारिक पत्र पाएको कम्पनीले नेपाली नोटको तोकिएको गुणस्तर कायम गर्न नसकेपछि बैंकले उक्त निर्णय गरेको थियो । भारतले नोट छापेर गत दशैं अगावै दिनुपर्ने थियो । तर, समयमै दिनुको साटो आलटाल गरिरह्यो । तोकिएको गुणस्तरबारे पटकपटक ताकेता गर्दा पनि काम नभएपछि सञ्चालक समितिले उक्त निर्णय गरेको थियो ।५० दरका ३० करोड थान नोट छाप्न भारतीय सरकारी कम्पनीले ५० लाख ४८ हजार सात सय ८० अमेरिकी डलरमा ठेक्का पारेको थियो । तत्कालीन विनिमय दरअनुसार उक्त रकम नेपाली रुपैयाँँ ६६ करोड ६४ लाख ३८ हजार नौ सय ६० र भारतीय रुपैयाँँ ४१ करोड ६५ लाख २४ हजार तीन सय ५० हुन आउँथ्यो । बैंकले नोट छापेबापतको रकम अमेरिकी डलरमा नै भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था छ । ठेक्का पाएको तीन महिनापछि कम्पनीले ३० करोड थान छाप्ने तयारी थालेँ भनेर औपचारिक जानकारी गराएको थियो । सोहीअनुसार छापिएको नमुना नोटको ‘डिजिटल भर्सन’ बैंकको केन्द्रीय कार्यालय, बालुवाटारस्थित मुद्रा व्यवस्थापन विभागमा बुझायो । तर ती ३० करोड रुपैयाँ थान नोट कम्पनीले छाप्यो या छापेन त्यसको निक्र्यौल हुन सकेको छैन । सेक्युरिटी थ्रेटमा फेल भएको त्यस्तो पैसा नेपाल भित्रिए के हुन्छ ? सरकारी संयन्त्र अन्योलमा छ ।
५० दरको नोटमा पानी छापको समस्या, नक्कली नोट भित्रिने त्रासले राष्ट्र बैंकका अधिकारीहरू सशंकितभारतीय कम्पनीले महँगोमा त्यस्तो कागजको आवश्यक व्यवस्थापन गरेर छाप्न लागिएको ५० दरको नोटमा लालिगुराँसको पानीछापको साइज फरक परेपछि नेपाली पक्षले रोकेको थियो । राष्ट्र बैंकले त्यतिबेलै भनेको हो– यसपटक ५० दरको नोटमा वाटरमार्क अर्थात् पानीछापको समस्या फेला प¥यो । दायाँतर्फको खाली भागमा लालीगुराँसको पानीछाप राख्नुपर्नेमा टेन्डरअघि तोकिएको साइजभन्दा अहिले सानो र निश्चित बोर्डरबाट बाहिर आएको पाइयो ।भारतले छपाइअघि तयार पारेको नमुना नोट गुणस्तर नपुगेको ठहर भइरहँदा यता नेपाली बजारमा गत डेढ वर्षको अवधिमा धमाधम ठूलो परिणाममा नक्कली नोटहरू सीमा नाकाबाट बरामद भइरहेको छन् । जुन घटनाले केन्द्रीय बैंकका अधिकारीहरू समेत सशंकित भइरहेका छन् ।
२८ फागुन २०८१ मा सर्लाही प्रहरीले नेपाली नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको थियो । भारतबाट तीनवटा मोटरसाइकलमा आउँदै गरेका छ जनाबाट एक लाख ७६ नेपाली नक्कली नोट सर्लाही प्रहरीले बरामद गरेको थियो । प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका–७ का सुल्तान मंसुर, रौतहटको गढीमाई नगरपालिका–९ का रामनारायण सहनी, सर्लाहीको धनकौल गाउँपालिका–७ निवासी दुलार सहनी, सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–२ का रामपृत सहनी र ब्रह्मपुरी गाउँपालिका–२ निवासी सिहानता कुमारी देवीलाई पक्राउ गरेको थियो ।मधेश प्रदेश प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८०÷८१ मा प्रदेशका आठ वटै जिल्लामा झण्डै ३६ लाख नक्कली नेपाली नोट बरामद भएको छ । प्रहरीले ती जिल्लाबाट गत आर्थिक वर्षमा ३५ लाख ८६ हजार तीन सय २० रुपैयाँ नक्कली नेपाली नोट बरामद गरेको हो ।
यही अवधिमा १५ हजार दुई सय २० बराबरको भारतीय नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । प्रदेशका सबै जिल्लाहरूबाट प्रहरीले नेपाली नक्कली नोट बरामद गरेको छ । त्यसमध्ये पनि चार जिल्लाबाट बढी नक्कली नोट बरामद भएको प्रहरी तथ्याङ्क छ । प्रहरीका अनुसार सबैभन्दा बढी रौतहटबाट २० लाख १६ हजार रुपैयाँ बरामद गरेको छ । बाराबाट १३ लाख ८९ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ । पर्साबाट एक लाख ६४ हजार, सर्लाहीमा १६ हजार आठ सय २० रुपैयाँ बरामद भएको प्रहरीको तथ्यांक छ । सोही अवधिमा प्रहरीले तीन जिल्लाबाट भारतीय नक्कली नोट पनि बरामद गरेको छ । सर्लाही, रौतहट र बाराबाट भारतीय नक्कली नोट बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले सर्लाहीबाट १३ हजार तीन सय २०, बाराबाट एक हजार र रौतहटबाट नौसय भारतीय नक्कली नोट बरामद गरेको हो ।